आइतबार, जेठ ६, २०८१

आईपीएलका महंगा खेलाडीको प्रदर्शन कस्ताे ?

नेपालखोज २०८० वैशाख २९ गते १८:४०

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजनमा ५५ खेल खेलिसकिएका छन् । यो प्रतिस्पर्धामा अहिलेसम्म महँगो मूल्यमा बिक्रि भएका धेरै स्टार खेलाडीहरु फेल भैरहेका छन् भने आधार मूल्यमा लिलामी वा यसको नजिकका खेलाडीहरूले असाधारण रूपमा राम्रो प्रदर्शन गरेका छन् ।

यहाँ हामी ५ यस्ता क्रिकेटरको चर्चा गर्दैछौँ जो लिलामीमा महँगोमा बिके तर टिमका लागि उनिहरुले अहिलेसम्म खासै केही गर्न सकेका छैनन् ।

साम करण
क्लब तथा मूल्य: पञ्जाब किंग्स, करिब ३० करोड

आइपिएल- २०२३ का सबैभन्दा महँगा खेलाडी इंग्ल्याण्डका अलराउन्डर साम करणको प्रदर्शन पञ्जाब किंग्सका लागि अहिलेसम्म औसत रहदै आएको छ। पञ्जाबले सामका लागि २९.६० करोड नेपाली रुपैयाँ खर्च गरेको थियो । उनले हालसम्म एक खेलमा राम्रो प्रदर्शन गरेका छन् । सिजनको ३१औं खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध अर्धशतक बनाएर टिमको जितमा महत्वपूर्ण भूमिका खेले । सामले यो सिजन ११ खेलमा १ अर्धशतकको सहयोगमा १९६ रन बनाएका छन् । यस क्रममा सामको स्ट्राइक रेट १३७.०६ छ । उनको नाममा सात विकेट छ । उनले ९.५५ इकोनोमीमा रन दिएका छन् ।

क्यामरन ग्रीन
क्लब तथा मूल्य : मुम्बई इन्डियन्स , २८ करोड

अष्ट्रेलियाका स्टार अलराउन्डर क्यामरन ग्रीनको आईपीएलमा यो पहिलो सिजन हो । ग्रीनलाई मुम्बईले २८ करोड नेपाली रुपैयाँमा किनेको थियो । अहिलेसम्मको खेलमा ग्रिनलको ब्याट र बल दुबैले खासै केही गर्न सकेका छैनन । उनले अहिलेसम्म ११ खेल खेलेका छन् र यस अवधिमा कुल २७४ रन बनाएका छन् । आईपीएलको यो सिजनमा ग्रीनको उत्कृष्ट स्कोर ६४ रन हो। उनले ६ विकेट लिएका छन् । बलिङमा उनको उत्कृष्ट प्रदर्शन ४१ रनमा २ विकेट छ । आगामी खेलमा उनीबाट अझ राम्रो प्रदर्शनको अपेक्षा छ ।

बेन स्टोक्स
क्लब तथा मूल्य: चेन्नई सुपर किंग्स, १६.२५ करोड

इंग्ल्याण्डका स्टार अलराउन्डर बेन स्टोक्सलाई आईपीएल २०२३ को लिलामीमा चेन्नई सुपर किंग्सले २६ करोड रुपैयाँमा किनेको थियो । उनले मुल्य अनुरुप टिमको अपेक्षा भने पूरा गर्न सकेका छैनन्। स्टोक्सले गुजरात टाइटन्सविरुद्ध ७ र लखनउविरुद्ध ८ रन बनाएका थिए । लखनउविरुद्ध बलिङ गर्दा स्टोक्सले एक ओभरमा १८ रन खर्चिएका थिए । समाचार अनुसार अहिले उनी घाइते छन् ।

निकोलस पूरन
क्लब तथा मूल्य: लखनऊ सुपरजायन्ट्स २५.६० करोड

लखनऊ सुपरजाइन्ट्सले वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पूरनका लागि २५.६० करोड नेपाली रुपैयाँ खर्च गरेको छ । उनले खेलेका ११ खेलमा २४.८० को औसतमा २४८ रन बनाएका छन् । यस अवधिमा उनको स्ट्राइक रेट १६०.०० छ। आरसीबी विरुद्ध उनले १९ बलमा ६२ रनको धुवाँधार इनिङ खेलेका थिए । यस्तो अवस्थामा उनले लखनउलाई अहिलेसम्म निराश पारेका छैनन् भन्न सकिन्छ । यद्यपि टिमले आगामी दिनमा उनीबाट अझ राम्रो प्रदर्शनको अपेक्षा गर्नेछ ।

ह्यारी ब्रुक
क्लब तथा मूल्य: सनराइजर्स हैदरावाद २१.२० करोड

सनराइजर्स हैदरावादबाट २१.२० करोड नेपाली रुपैयाँमा किनिएको ह्यारी ब्रुकको ब्याट अहिलेसम्म मौन छ । इंग्ल्याण्डका ब्याट्सम्यान ह्यारीले अहिलेसम्म टिमका लागि खासै योगदान दिन सकेका छैनन् । यो ह्यारीको डेब्यु सिजन हो। केकेआर विरुद्ध ब्रुकको शतक बाहेक उनको प्रदर्शन कमजोर रहदै आएको छ । हालसम्म खेलेका ९ खेलमा ह्यारीले १२१.६४ स्ट्राइक रेटमा १६३ रन बनाएका छन् । टिमले अन्तिम खेलमा ब्रुकलाई प्लेइङ–११ मा पनि राखेन । उनको प्रदर्शनलाई हेर्दा उनी अहिलेसम्म फ्लप नै भएको बुझिन्छ ।

प्रतिक्रिया