आइतबार, जेठ ५, २०८२

क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने

नेपालखोज २०८० वैशाख ३० गते ९:३८

चितवन । जिल्लामा रहेर व्यवस्थापन सङ्काय अध्यापन गराउने तीन वटा क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले विश्वविद्यालय अनुदान आयोगको ‘एनइएचइपी’ परियोजनाअन्तर्गत उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्न लागेका हुन् ।

विश्वविद्यालयले माग गरेको आशय पत्रको मूल्याङ्कनअनुसार १८ वटा क्याम्पसमा यस परियोजनामा छनोट भएकोमा ती क्याम्पसले संयुक्तरुपमा शुक्रवार यहाँ पत्रकार सम्मेलन गरेर कार्यक्रम कार्यान्वयनको लागि अहिले पाठ्यक्रम निर्माण गरी तालिम र आर्थिक सहायतालाई इच्छुक उद्यमी छनोट गर्ने चरणमा रहेको जानकारी दिइयो ।

कार्यक्रममा प्रतिवर्ष प्रतिक्याम्पस ३० जना विद्यार्थी, पूर्व विद्यार्थी र युवा प्राध्यापक छनोट हुने छन् । तालिम प्राप्त गरिसकेपछि मूल्याङ्कनमा छनोट भएमा आफ्नो व्यावसायिक सोचअनुरूपको प्रस्ताव पेस गरेर विश्वविद्यालय अनुदान आयोगको मापदण्ड पूरा गरेपछि प्रस्तावित लगानी रकमको ६० प्रतिशत विश्वविद्यालयले बेहोर्ने छ ।

पाँच लाखदेखि रु ४० लाखसम्म प्रतिप्रस्ताव सहायता रकम प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो रकम तीन वर्षसम्म बिना ब्याज प्रयोग गर्न पाइने छ । सहायता रकम पाउन कार्यक्रमको प्रक्रियाभित्र रही आवेदन पेस गरेपछि प्राप्त आवेदनमध्येबाट प्रत्येक क्याम्पसमा गठन भएको निर्णायक समितिले इच्छुक उद्यमी छनोट गर्ने छ ।

क्याम्पसबाट छानिएको आवेदन विश्वविद्यालय अनुदान आयोगले स्वीकृत गरेपछि मात्र तोकिएको अनुदान किस्ताबन्दीमा व्यवसायको प्रगतिअनुसार प्राप्त गर्न सक्ने छन् । प्राप्त अनुदान रकम उद्यमशीलताबाट आम्दानी गरेपछि उद्यमीले फिर्ता गर्नुपर्ने प्रावधान छ ।

यही जेठ १० गतेबाट उद्यमी बन्न चाहने व्यक्तिमध्येबाट तीन वटै क्याम्पसले एकै समयमा आवेदन माग गर्ने जनाइएको छ । आवेदन सङ्कलनको समय १५ दिन हुनेछ । निश्चित प्रक्रिया र मापदण्ड पूरा गरेका आवेदन छनोट गरिसकेपछि चितवनका तीन वटै क्याम्पसले असारको पहिलो हप्ताबाट कम्तीमा ४५ घण्टा प्रशिक्षार्थीलाई तालिम दिइने छ ।

चितवनलाई उद्यमशीलता र नवप्रवर्तनको केन्द्रको रूपमा विकास गर्ने यस कार्यक्रमको लक्ष्य रहेको छ । पत्रकार सम्मेलनमा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतो, कपिल सुवेदी, सहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख बुद्धिराज सेढाइ, सागर तिवारी, प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइसन्सका चोकबहादुर क्षेत्रीलगायतले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया