बुधबार, जेठ २९, २०८२

भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : मुख्यमन्त्री चौधरी

नेपालखोज २०८० वैशाख ३० गते २१:०५

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन्। आफ्नो नाम विभिन्न सञ्चारमाध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

नेपाल प्रेस युनियन दाङको साधारणसभा एवं आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको स्पष्ट पारे । सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न उनले आग्रह गरे ।

मिडियालाई बलियो बनाउनका लागि प्रदेश सरकारले पत्रकार र सञ्चार गृहका लागि विशेष योजना बनाएको उनको भनाइ थियो । पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास तथा दूरदराजसम्म सूचनाको पहुँच पुर्याउनका लागि प्रदेश सरकारले भूमिका खेल्दै आएको मुख्यमन्त्री चौधरीले बताए।

रेडियोको सबलिकरणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले लोकतान्त्रिक आन्दोलनको जगबाट अहिलेको व्यवस्था स्थापनाका लागि नेपाली सञ्चारकर्मीले खेलेको भूमिकालाई राजनीतिक दलले विर्सन नहुने बताए ।

सो अवसरमा प्रेस युनियन दाङ शाखाले स्थापना गरेको शिव गिरी स्मृति पत्रकारिता पुरस्कारबाट कृष्णराज सर्वहारीलाई पुरस्कृत गरिएको थियो । साथै महासङ्घको जिल्ला सदस्य हुँदै केन्द्रीय प्रतिनिधित्व गर्ने पत्रकार महासङ्घका अध्यक्ष पोखरेल र सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीलाई पनि सम्मान गरिएको थियो । -rss

प्रतिक्रिया