शनिबार, असार २१, २०८२

हलेसी तुवाचुङमा गहत खेती प्रवर्द्धन कार्यक्रम

नेपालखोज २०८० जेठ १ गते ७:४९

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवर्द्धन कार्यक्रम ल्याएको छ ।

लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पुर्याउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम ल्याएको हो ।

गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रवर्द्धन कार्यक्रम अघि सारिएको नगर प्रमुख विमला राईले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नगरपालिकाले व्यावसायिकीकरण गहत खेतीका लागि इच्छुक कृषक, निजी उद्यमी र फर्मलाई हप्ता दिनभित्र आवेदन दिन गत वैशाख–१९ गते प्रथम पटक सूचना प्रकाशित गरेको छ ।

गहतको बीउ भएका किसानले स्वतः गहत उत्पादन गर्न सक्ने र बीउ नभएका किसानलाई आवश्यक बीउ उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । उत्पादित गहतको मूल्य निर्धारण गरेर नगरपालिकाले बजारको सुनिश्चितता गरिदिने नगर प्रमुख राईले जानकारी दिएका छन् ।

त्रिधार्मिकस्थल हलेसीमा आएर फर्कने विभिन्न ठाउँका दर्शनार्थी एवं पर्यटकले कोसेलीका रूपमा लैजान पाउने गरी गहत खेती प्रवर्द्धनको कार्यक्रम ल्याइएको नगर प्रमुख राईले बताए ।

‘रैथाने बाली गहत लोपोन्मुख बनिसकेको छ । अहिलेसम्म किसानलाई गहतको मूल्य र महत्त्व बुझाउन सकिएको छैन । गाउँघरमा चामलसँग गहत साट्ने चलन छ’, उनले भने, ‘अब इच्छुक किसानलाई गहतको बीउ उपलब्ध गराउँछौँ । उत्पादित गहतको मूल्य निर्धारण गरेर बजारीकरणको व्यवस्था नगरपालिकाले मिलाउने योजना बनाएका छौँ । गहतलाई हलेसी को कोसेलीका रूपमा स्थापित गर्ने योजना छ ।’

नगरपालिकामा उत्पादित गहत सङ्कलनका लागि विक्रेता सूचिकृत गर्ने नगरपालिकाको योजना छ । गत असारमा सम्पन्न ११ औँ नगर सभाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम सम्बन्धी नीति तथा कार्यक्रम पास गरेको थियो ।

नगरपालिकामा गहतको व्यावसायिक खेतीको प्रचुर सम्भावना छ । नगरमा उत्पादित गहत जिल्लाबाहेक छिमेकी जिल्लाका हाट बजारमा समेत पुग्ने गरेको छ ।

बाहुनी डाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मङ्गलटारलगायतका ठाउँका किसानले गहत खेती गर्दै आएका छन् । हालसम्म गाउँघरमा गहत दालको रूपमा मात्र उपयोग हुने गरेको छ ।

नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत बदाम, कागुनो र जुनेलो खेती गर्ने किसानलाई पनि बीउका लागि आवेदन दिन आह्वान गरेको छ । एघार वडा रहेको उक्त नगरपालिका सुक्खा ग्रस्त क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया