थाइल्याण्ड निर्वाचन : फेउ थाईले गठबन्धन सरकारको नेतृत्व गर्ने दावी

बैङ्कक । घोषित निर्वाचन परिणामले थाइल्याण्डको कडा चुनावी प्रतिस्पर्धापछि फेउ थाई पार्टीले प्रगतिशिल मुभ फरवार्ड पार्टी (एमएफपी) सँग गठबन्धन बनाउने देखिएको थाई अधिकारीहरूले जनाएका छन् ।
निर्वाचन आयोगबाट सोमबार सार्वजनिक तथ्याङ्क अनुसार करिब एक दशकसम्म सेनानिकट परम्परावादी दलहरूलाई भारी पराजयको भट्का दिँदै मुभ फरवार्ड पार्टी सबैभन्दा ठूलो दल बन्ने देखिएको छ ।
अल जजिराका अनुसार ९७ प्रतिशत मतदान केन्द्रको गणनासँगै प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) ले लोकप्रिय मतमा एक करोड ३५ लाख, प्रतिद्वन्द्वी विपक्षी दल फेउ थाईले एक करोड तीन लाख र प्रधानमन्त्री प्रयुत चान–ओ–चाको युनाइटेड थाई नेशन पार्टीले ४५ लाख मत प्राप्त गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार यस पहिले थाइल्याण्डको संसदमा विपक्षी दलको भूमिका निर्बाह गर्दै आएका फेउ थाई पार्टी र मुभ फरवार्ड पार्टीले निर्वाचन क्षेत्र र दलीय सूची दुवै दौडमा पालैपालो अग्रता लिइरहेका छन् । मतगणना जारी छ ।
बैङ्कक पोस्टका अनुसार फेउ थाईका प्रधानमन्त्रीका तीन दावेदारमध्ये एक स्रेथा थाभिसिनले अनौपचारिक नतिजाले फेउ थाई अझै पनि अग्रस्थानमा रहेको देखाएको बताएका छन् ।
सन् २०२० मा गठन भएको युवा नेतृत्वको प्रगतिशील पार्टी एमएफपीले ११५ निर्वाचन क्षेत्र जित्ने प्रवल सम्भावना देखिएको छ भने यसले राष्ट्रव्यापी मतदानका लागि दलद्वारा छुट्याइएको सिटसङ्ख्याको ३३ प्रतिशत हिस्सा ओगटे्ने देखिएको छ ।
प्रतिक्रिया