आइतबार, असार २२, २०८२

कैदीबन्दीलाई औषधि सहयोग

नेपालखोज २०८० जेठ ५ गते १३:४३

चितवन । कारागार कार्यालय भरतपुरमा बजेट अभावका कारण बिरामी कैदीबन्दीलाई औषधि किन्न समस्या भएपछि नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ नारायणगढ इकाइले औषधि सहयोग गरेको छ । इकाइले विभिन्न ३१ प्रकारका औषधि आज कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो ।

इकाइका अध्यक्ष धर्मदत्त दबाडीले कारागार प्रमुख कमल आचार्यलाई औषधि हस्तान्तरण गरेका हुन् । विगत एक महिना १५ दिनदेखि कारागार प्रशासनमा औषधिको अभाव हुँदै आएको समाचार प्रकाशन भएसँगै इकाइले रु एक लाख ५० हजार बराबरको औषधि हस्तान्तरण गरेको हो ।

दीर्घरोगी र अन्य बिरामीका लागि आवश्यक औषधिसमेत खरिद गर्न नसक्ने अवस्थामा कारागार प्रशासन पुगेको आचार्यले जानकारी दिए ।

उनले भने, ‘अहिले बिरामीलाई औषधि पुर्याउन मुस्किल परेको छ । कारागार विभागले अघिल्लो वर्षको तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।’

कारागारमा हाल ४७ जना महिला चार जना नाबालक-नाबालिकासहित सात सय ५६ जना कैदीबन्दी छन् । तिनीहरुमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । आचार्यका अनुसार उनीहरु उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौल जस्ता दीर्घरोग भएकाहरु छन् । उनीहरुलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया