काँकरभित्ता–लौकाही सडक चार लेनको बनाउन एडिबीले दिने ३० करोड डलर ऋण

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले ३० करोड अमेरिकन डलर प्रदान गर्ने भएसँगै काँकरभित्ता–लौकाही सडक विस्तार हुने भएको छ ।
विस्तारित सडक अन्तर्राष्ट्रिय स्तरको हुने र उक्त सडकमा ट्राफिक सङ्केत, सडक बत्ती, पैदल मार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदल यात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन् भने सडक चार लेनको हुने छ ।
मनिलास्थित बैंकको प्रधान कार्यालयले गत बुधवार ऋण स्वीकृत गरेसँगै पूर्व–पश्चिम राजमार्ग बन्ने निश्चित भएको हो ।
एडिबीले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न ३० करोड अमेरिकी डलर ऋण सहयोग गरेको हो । भारत र बंगलादेशसँगको व्यापारिक मार्ग सुधारका लागि एडिबीले ऋण उपलब्ध गराउने निर्णय गरेको हो ।
दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग करिडोरको हिस्साको रूपमा पूर्व–पश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने बताइएको छ । काँकरभित्तादेखि सुनसरीको लौकही सडक खण्डअन्तर्गतको ९५ किलोमिटर सडक दुई लेनबाट चार लेनमा विस्तार गरिने छ । यसमा ६ वटा आधुनिक पुलसहित अन्य पुल निर्माण हुने छन् ।
त्यस्तै झापाको चारआली र बिर्तामोड तथा सुनसरीको इटहरीमा अन्डरपास निर्माण गरिने छ । यो आयोजनासँगै एडिबीले जलवायु परिवर्तन सुधार, सडक परियोजना, पर्फर्मेन्स इन्डिकेटरलगायत प्राविधिक सहयोगका लागि अतिरिक्त साढे ७ लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ ।
उक्त सडक बिस्तारका लागि यसअघि नै बोलपत्र आव्हान भएर विभिन्न कम्पनीले निर्माणका लागि प्रस्ताव पत्रसमेत दर्ता गरिसकेका छन् । हाल पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दुई लेन (क्यारिजवे) को सडकमा दैनिक १४ हजार सवारीसाधन ओहोर दोहोर गर्ने गरेका छन् । सन् २०४१ सम्ममा यो सडकमा ४८ हजार ८ सय सवारीसाधन गुड्ने एडिबीको प्रतिवेदनमा उल्लेख छ ।
निर्माण गरिने सडक मध्य भागमा विभाजित हुने छ । सहरी क्षेत्रमा सेवा लेन, फुटपाथ, साइकल लेन हुने छ । परियोजनामार्फत, सुधार ज्यामिति, फुटपाथ, ढल निकास, सडक सुरक्षा, र जलवायु तथा प्रकोप प्रतिरोधी सुविधाहरूसहित बढ्दो यातायातको मागलाई समायोजन गर्न सडकलाई दुई लेनको दोहोरो क्यारिजवेमा स्तरोन्नति गरिने भएको छ ।
सडक निर्माणका क्रममा हिँड्ने, साइकल चलाउने वा सार्वजनिक यातायातको प्रयोग गर्ने महिला र बालबालिकालगायत जोखिममा रहेका सडक प्रयोगकर्ताहरूको सुरक्षामा सुधार गर्न जंक्सनहरूमा ग्रेड पृथकीकरण वा ट्राफिक सङ्केत अपनाइनेछ ।
प्रतिक्रिया