युक्रेनको जापोरिजझिया आणविक केन्द्र पुनः विद्युत ग्रिडबाट काटियो
मस्को । युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रुसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् ।
रुसी प्रशासनले टेलिग्राममा लेखेको छ, ‘हाई एक्टेन्सन लाइन’ काटिएका कारण प्लान्टले आफ्नो बाह्य विद्युत् आपूर्ति गुमाएको छ । लोडसेडिङको कारणबारे अनुसन्धान भइरहेको छ साथै यसलाई ब्याक अप डिजेल जेनरेटरले सञ्चालन गरिएको छ ।
युक्रेनको आणविक एजेन्सी एनरगोएटोमले रुसले सोमबार बिहान आक्रमण गरेको आरोप लगाउँदै सन् २०२२ मार्चमा मस्कोको सेनाले नियन्त्रणमा लिएपछि प्लान्टमा लोडसेडिङ अवस्थामा गएको यो सातौँ घटना भएको जनाएको छ ।
एनरगोएटोमका अनुसार जेनरेटर प्रणाली सञ्चालनका लागि प्लान्टमा १० दिनका लागि पर्याप्त इन्धन मौज्दात छ ।
‘यदि यो समयमा प्लान्टमा बाह्य ऊर्जा पुनः स्थापना गर्न असम्भव भएमा विकिरणको परिणाम निम्तिने खतरा हुन सक्छ,’ एनरगोएटमले चेतावनी दिएको छ ।
यसैबिच, निप्रो क्षेत्रका गभर्नरले रातभर हवाई आक्रमण भएको र चार वटा रुसी क्षेप्यास्त्र र १५ वटा ड्रोन खसालेको र कम्तीमा आठ जना सर्वसाधारण घाइते भएको बताएका छन् ।
दक्षिण पूर्वी युक्रेनमा अवस्थित युरोपको सबैभन्दा ठुलो आणविक केन्द्र जापोरिजझियामा यस पहिले पनि रुसी क्षेप्यास्त्र आक्रमणका कारण विद्युत् कटौती भएको एनरगोएटमले जनाएको छ ।
यद्यपि, उक्त आक्रमणको केही घण्टापछि बाह्य विद्युत् आपूर्ति सुचारु भएको थियो ।
जापोरिजियाले युक्रेनको लगभग २० प्रतिशत बिजुली आपूर्ति गर्ने गरेको शक्तिशाली विद्युत् गृह हो । सेप्टेम्बरमा बिजुली उत्पादन रोक्नुअघि प्लान्टले रुसको आक्रमणको प्रारम्भिक महिनाहरूमा बारम्बार गोलाबारीको बाबजुद काम जारी राखेको थियो ।
प्लान्टको छ वटा सोभियत–युगको रिएक्टरमध्ये कुनै पनि बिजुली उत्पादन गरेको छैन । तर विशेष गरी रियाक्टरहरू चिसो गर्ने यसको आफ्नै आवश्यकताहरूको लागि यसलाई युक्रेनी पावर ग्रिडसँग जोडिएको छ ।
प्रतिक्रिया