बुधबार, वैशाख १९, २०८१

कोरोनाको अर्को खतरनाक भेरियन्ट ‘नियो-कोभ’

नेपालखोज २०७८ माघ १५ गते ९:०९

काठमाडौं । कोरोना महामारीको खतरा कम हुने छाँट देखिँदैन । ओमिक्रोनका रूपमा कोरोनाको नयाँ लहर सामना गरिरहेको संसारले चाँडै यसको एउटा नयाँ भेरियन्टको संकट सामना गर्नुपर्ने देखिँदै छ ।

दक्षिण अफ्रिकाबाट प्रशारित एक समाचारअनुसार त्यहाँ कोरोना भाइरसको एउटा अर्को भेरियन्ट फेला परेको छ जसलाई वैज्ञानिकहरुले NeoCov ‘नियो-कोभ’ नाम दिएका छन । अहिलेसम्मको जानकारी अनुसार नियो-कोभ तीव्र गतिमा फैलने मात्र होइन संक्रमित तीनमध्ये एकको ज्यान नै लिन सक्ने किसिमको घातक पनि छ ।

दक्षिण अफ्रिकामा फैलिरहेको यो नयाँ भाइरस चिनियाँ वैज्ञानिकहरुले पत्ता लगाएको बताइन्छ । वुहान युनिभर्सिटी तथा इन्स्टिट्युट अफ बायोफिजिक्स अफ द चाइनिज एकेडमी अफ साइन्सेजका शोधकर्ताहरुले गरेको अध्ययनअनुसार, नियो-कोभ कोरोना भाइरस PDF-2180-CoV सँग सम्बन्धित छ जसले मानिसहरुलाई पनि संक्रमित गर्न सक्छ । यद्यपि चीनको यो अध्ययनलाई कुनै ठूला संघ-संस्थाले मान्यता दिइसकेका छैनन् ।

रिपोर्टअनुसार नयाँ कोरोना भाइरस- ‘नियो-कोभ’- दक्षिण अफ्रिकाका चमेराहरुमा फेला परेको थियो जुन चाँडै अन्य जनावरहरुमा सर्यो । त्यहीँबाट अब यो भाइरस मानिसमा फैलिरहेको छ । बायोरेक्सिव वेबसाइटमा प्रि-प्रिन्टका रूपमा प्रकाशित उक्त अध्ययनमा के चेतावनी दिइएको छ भने यो भाइरस मानिसमा तीव्र गतिमा प्रसार हुन्छ । अहिले के दाबी गरिँदै छ भने ‘SARS-CoV-2 वा MERS-CoV को उपचारमा प्रयोग भैरहेको एन्टिबडी यो संक्रमणमा प्रभावहीन साबित हुन्छ ।’

डब्ल्यूएचओको धारणा
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार मनुष्यमा नियो-कोभको सम्भावित खतराका बारेमा अधिक जानकारीका लागि थप शोधको आवश्यकता छ । डब्ल्यूएचओसँग जोडिएका विश्व पशु स्वास्थ्य संगठन (ओआईई), खाद्य तथा कृषि संगठन (एफएओ) एवं संयुक्त राष्ट्र संघीय पर्यावरण कार्यक्रम (यूएनईपी) सबैले नयाँ विकसित परिस्थितिमा नजर पुर्याइरहेका छन् । डब्ल्यूएचओ भन्छ, ‘नयाँ भाइरस मनुष्यका लागि कति जोखिमपूर्ण छ भन्ने कुरा बुझ्न अब थप अध्ययन-अनुसन्धानको आवश्यकता छ ।’

वुहानका वैज्ञानिकहरुले कोरोना भाइरसको यो नयाँ भेरियन्ट नियो-कोभका सम्बन्धमा चेतावनी जारि गर्दै यो न्यु स्ट्रेन श्वसन सिन्ड्रोम MERS-COV सँग सम्बन्धित भएको बताएका छन् । रूसी समाचार एजेन्सी स्पुतनिकको एक रिपोर्टअनुसार नियोकोभ नयाँ भाइरस होइन र यसलाई पहिले नै मध्य पूर्वी देशमा पत्ता लगाइएको थियो ।

वुहान युनिभर्सिटी तथा चाइना एकेडेमी अफ साइन्सेजका शोधकर्ताहरुका अनुसार, एउटै म्युटेसनपछि यो भाइरसले मानव कोशिकाहरुलाई संक्रमित गर्न सक्छ । उता रूसको भाइरोलोजी तथा बायोटेक्नालोजी विभागको तर्क के छ भने- ‘यो भेरियन्टमा मानिसमा सर्न सक्ने क्षमता निकै कम छ ।’

प्रतिक्रिया