‘सूचनाका लागि गिरोहसँग सम्पर्क गरेंँ’

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले अनुसन्धान प्रयोजनका क्रममा सूचना संकलन एवं विश्लेषणका लागि आफूले शरणार्थी प्रकरणका गिरोहसँग सम्पर्क गरेको दावी गरेका छन् ।
पक्राउ परेपछि प्रहरीसँगको बयानका क्रममा उनले सूचना संकलनका लागि विवादास्पद व्यक्तिसँग सम्पर्क भएको र भुटानी शरणार्थीको प्रक्रिया टुंग्याउन त्यसको उपयोग गरिएको दावी गरेका छन् ।
‘सम्पर्कमा आउनेमध्ये अनुसन्धान प्रयोजनको लागि आवश्यक ठानिएका व्यक्तिसँग सूचना संकलन गर्न, सूचनाको विश्लेषण गर्न एवं आवश्यक निर्णय गर्न सूचनाको उपयोग गर्न सक्छ’ स्रोतले भन्यो, ‘त्यो सूचना भुटानी शरणार्थीको विषयलाई एउटा टुङ्गोमा पुर्याउन निर्णय प्रक्रियाका लागि उपयोग गरिएको छ ।’ उनलाई प्रहरीले किन बारम्बार विचौलियासँग सम्पर्क गरेको भनी सोधेको थियो ।
आफ्नै कार्यकालमा भुटानी शरणार्थीको नाममा नेपालीलाई विदेश पठाउने चलखेल रोकिएको भन्दै सचिव पाण्डेले शरणार्थीको नाममा उठाएको पैसा फिर्ता गर्नु परेपछि विचौलियाले प्रतिशोधको रुपमा आफ्नो नाम मुछेको दाबी गरेका छन् ।
प्रतिक्रिया