शुक्रबार, वैशाख १४, २०८१

कोरोनाको खतरा टरेको छैन, नयाँ भेरियन्ट आउन सक्छ : डब्लुएचओ

नेपालखोज २०८० जेठ १० गते १६:२३

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनापछिको अर्को महामारीका बारेमा चेतावनी दिएको छ । डब्लुएचओका गभर्नर जनरल टेड्रोस एडनाम गेब्रेयसले सारा विश्व कोरोनाभन्दा पनि खतरनाक अर्को महामारीका लागि तयार रहनुपर्ने बताएका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ७६ औं विश्व स्वास्थ्य सम्मेलनमा डब्लुएचओले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उक्त कुरा बताएको हो । यस क्रममा टेड्रोसले भने- ‘कोरोना अब विश्वव्यापी आपतकाल नभए पनि यसको अर्थ अहिले यसबाट कुनै खतरा छैन भन्ने होइन । कोभिड- १९ को नयाँ संस्करण जुनसुकै बेला आउन सक्छ वा कुनै नयाँ रोग देखा पर्न सक्छ जुन कोरोना भन्दा खतरनाक हुनेछ । यस्तो अवस्थामा अहिलेदेखि नै तयारी गर्नु उपयुक्त हुन्छ ।

कोरोनाबाट मृत्यु हुनेहरु बास्तबिक संख्या २ करोडभन्दा बढी भएको दाबि गर्दै टेड्रोसले बैठकमा भने- कोभिड–१९ शताब्दीकै सबैभन्दा खतरनाक रोग हो । जब कोरोना आयो त्यतिबेला हामी त्यसको सामना गर्न तयार थिएनौं । अब दोस्रो महामारी पनि पक्कै आउनेछ र हामीले त्यसलाई सँगै मिलेर सामना गर्नुपर्नेछ। कोरोनाका कारण आधिकारिक रुपमा करिब ७० लाख मानिसको मृत्यु भएको छ भने यसको वास्तविक संख्या २ करोडभन्दा बढी हुनसक्छ । यसलाई हेरेर हामीले हाम्रो स्वास्थ्य क्षेत्रमा जतिसक्दो चाँडो आवश्यक परिवर्तन गर्न जरुरी छ ।

विश्वव्यापी स्वास्थ्य लक्ष्यका लागि चुनौती बनेको महामारीले २०१७ को विश्व स्वास्थ्य सभा बैठकमा घोषणा गरिएका लक्ष्यमा असर गरेको छ। टेड्रोसले भने- कोरोना हाम्रो लक्ष्यका लागि ठूलो चुनौती भए पनि यसले दिगो लक्ष्यमा ध्यान दिनु किन महत्त्वपूर्ण छ भन्ने कुरा पनि देखायो। यो पुस्तासँग महामारीसँग सम्झौता नगर्ने प्रतिबद्धता छ किनभने उनीहरूले नै एउटा सानो भाइरस कति डरलाग्दो हुन सक्छ भन्ने अनुभव गरेका छन् ।

यसअघि मे ५ मा डब्ल्यूएचओले कोरोना अब विश्वव्यापी स्वास्थ्य आपतकाल नरहेको घोषणा गरेको थियो । यसको कारण द्रुत रूपमा घट्दो सक्रिय केस र मृत्युको तथ्याङ्क बताइएको थियो । त्यतिबेला टेड्रोसले भनेका थिए- खोपका कारण हामीले सफलता पायौं । अहिले स्वास्थ्य प्रणालीमा पर्ने दबाब पनि निकै कम भएको छ भने अधिकांश देशहरू सामान्य जीवनमा फर्किएका छन्।

प्रतिक्रिया