सन्दर्भ गणतन्त्र दिवस : गणतन्त्रको भविष्य उज्ज्वल छ

नेपालखोज २०८० जेठ ११ गते ९:०१

काठमाडाैं । प्रमुख राजनीतिक दलका नेताहरुले पूर्वाग्रह नराखी मुलुकको समृद्धिका खातिर साझा ‘एजेन्डा’मा आउन सके सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्य उज्ज्वल रहेको प्रतिक्रिया दिएका छन् । गणतन्त्र दिवसका सन्दर्भमा उनीहरुले देश र जनताका हित विपरीत दलगत स्वार्थका लागि आरोप–प्रत्यारोप गर्ने प्रवृत्ति अन्त्य गरी विकास र समृद्धिको अभियानमा जुटेर व्यवस्थालाई बलियो बनाउन सकिएमा सबै नेपालीको भविष्य सुन्दर रहने प्रतिक्रिया दिए ।

नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले अहिले राष्ट्रिय सहमतिकै सरकार भएकाले ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई सुदृढीकरण गर्न राष्ट्रिय एकताको साझा अवधारणा बनाए राष्ट्रनिर्माणको महाअभियानमा जुट्न सबै राजनीतिक दललाई आह्वान गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको शासन प्रणाली कार्यान्वयनकै चरणमा रहेकाले सीमित स्रोतसाधनका कारण जनताको विकास, समाजिक न्यायसहित सुशासन र आर्थिक समृद्धिको तीव्र आकाङ्क्षा क्षणमै पूरा गर्न चुनौती भइरहेको बताउँदै उनले व्यवस्था परिवर्तन भएकाले पहिलो चरणमा कानुनी र संरचनागत व्यवस्था मिलाउने विषय नै अहिलेको प्राथमिकता भएको उल्लेख गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारले व्यवस्थालाई दोषारोपण गर्नुको साटो नेतृत्वले समाज र जनताको भावनालाई बुझ्न नसकेको घटनाका रुपमा लिनुपर्ने धारणा व्यक्त गरे । लामो सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र र गणतन्त्रप्रति आवेश र हतारोमा आएका आवाजका पक्षमा सत्ता पुग्यो र उनीहरु नै निर्णायक भए भने जनताले दुःख पाउने हुँदा राज्यलाई समयमै सजग र उत्तरदायी तुल्याउनुको विकल्प नरहेको प्रतिक्रिया दिए ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मुलुकले संवैधानिक गणतन्त्र आत्मसात् गरेकाले संविधान अनुरुप राष्ट्रपति संवैधानिक दायराभित्र बस्नुपर्छ भन्ने मान्यताअनुरुप राष्ट्रपति तदनुरुप प्रस्तुत हुनुपर्छ भन्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए । उनले विगतमा राष्ट्रपति जस्तो सर्वोच्च र गरिमामय पद विवादभन्दा माथि हुन नसकेकाले आगामी दिनमा त्यस्ता घटना दोह¥याउन नदिन जिम्मेवार र सचेत भएर राजनीतिक दलले काम गर्नुपर्छ भने ।

नेपाली कांग्रेसका सहमहामन्त्री बन्द्रीप्रसाद पाण्डेले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र जारी भएपछि दुईपटक तीन तहको निर्वाचन भई बिस्तारै संस्थागत रुप लिने विषयमा सफलता प्राप्त भइरहेको महसुस भएको बताए । सहमहामन्त्री पाण्डेले संवैधानिक, राजनीतिक दृष्टिले सफल देखिए पनि कतिपय कानुनी प्रबन्ध मिलाउनुपर्ने र अर्थ राजनीतिक पाटोबाट जनताको सेवाका लागि निकै मेहनत गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बास्कोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएको जम्मा छ वर्ष भएकाले कानुनमा त्यति कमजोरी नदेखिए पनि व्यवस्थापनमा भने केही चुनौती देखिएको प्रतिक्रिया दिए ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले गणतन्त्र नेपाल र नेपालीका लागि गौरवको विषय भएको प्रतिक्रिया दिए । कुनै भावावेशमा गएर विरोधका लागि विरोध गर्ने प्रवृत्तिमा सुधारको खाँचो औँल्याउँदै उनले बोल्न र विरोध गर्न पाउने वातावरण पनि गणतान्त्रिक व्यवस्थाको उपज भएको धारणा राखे । स–सना विषय उठाएर गरिमामय पदको विरोध गरिरहनु सुहाउँदो विषय नभएको टिप्पणी गर्दै अध्यक्ष राउतले राष्ट्रपतिको शान भनेको राष्ट्रको इज्जत र प्रतिष्ठा भएको विषयलाई सबैले मनन गर्न आवश्यक छ ।

प्रतिक्रिया