बिहीबार, चैत १५, २०८०

४८ खर्ब ४८ अर्ब रुपैंयाँ पुग्यो, बैंकिङ क्षेत्रको कुल कर्जा रकम

नेपालखोज २०८० जेठ ११ गते ११:३१

काठमाडौं । बैंकिङ क्षेत्रको कुल कर्जा रकम ४८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अपडेट गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा सम्बन्धी विवरण अनुसार सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंक, वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी सहितका ५५ वटा संस्थाहरूले गत सोमबार अर्थात् यही जेठ आठ गतेसम्ममा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन ।

बैंकिङ क्षेत्रले प्रवाह गरेको कुल कर्जा रकम मध्येमा वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कर्जा रकम ४२ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कुल कर्जा रकम भने पाँच खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ ।

चालु आवको पछिल्लो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले सङ्कलन गरेको कुल निक्षेप रकम भने ५४ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ । उक्त निक्षेप मध्येमा वाणिज्य बैंकहरुले मात्र सङ्कलन गरेको कुल निक्षेप रकम ४८ खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूले सङ्कलन गरेको कुल निक्षेप रकम छ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कर्जा तथा निक्षेप अनुपात अर्थात् (सिडी) रेसियो भने ८४ दशमलव ८७ प्रतिशत रहेको छ ।

यस अवधिमा बैक तथा फाइनान्स कम्पनीहरूबिचको अन्तर बैंक कारोबारको औसत ब्याजदर भने सात प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया