बिहीबार, वैशाख १३, २०८१

बन्दीपुर केबुलकार सुरु हुने चरणमा

नेपालखोज २०८० जेठ १२ गते ५:००

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको केबुलकार डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ । केबुलकारको सम्पूर्ण काम सकिएको र अब परीक्षण सुरुआत भएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ ।

लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीसहित परीक्षणको कामलाई अगाडि बढाइएको जानकारी दिनुभयो । शर्माले लट्ठाको भार परीक्षणको काम सुरु भएको बताए । उनका अनुसार भार परीक्षणका लागि १५ दिन सामान बोक्ने डब्बा सञ्चालन गरिनेछ ।

तीन चरणका काम सम्पन्नपश्चात् अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र र अन्य सबै खालका सुरक्षा एवं सम्पन्न सम्बन्धित प्रमाणपत्र प्राप्त गरिने लिमिटेडका गुणस्तर एवं प्रविधि निर्देशक सुप्रियो मण्डलले जानकारी दिए । प्रतिघन्टा पाँच सय यात्री बोक्न सक्ने क्षमता रहेको केबुलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ ।

केबुलकारले साँझ ५ देखि राति ११ बजेसम्म रेष्ट्रो क्याबिन रेस्टुरेन्ट एवं आराम कक्ष सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी गरेको निर्देशक तारानाथ उपाध्यायले जानकारी दिए । विसं २०७५ साउनदेखि केबुलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । ३९ प्रतिशतमात्र ऋण लिएको यस परियोजनामा एसबिआई बैंक र सहवित्तीयकरणका रुपमा एनएमबी बैंकको सहकार्य रहेको निर्देशक शिव शर्माले जानकारी दिए । पृथ्वी राजमार्गको केबुलकार चोकदेखि बन्दीपुरसम्म एक हजार सात सय मिटर लामो केबुलकारको तल्लो स्टेसनमा आकर्षक बगैँचा र पर्यटक कोर्ट असार १५ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।

केबुलकारसँगै पाँचतारे होटलको काम भने तीव्र गतिमा अगाडि बढेको छ । हाल दैनिक तीन सय कामदार परिचालन गरेर काम अगाडि बढाइएको छ । विसं २०८० मङ्सिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्युजरुम, असारभित्र बाक्स म्युजियम, साउनभित्र जिपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ ।

प्रतिक्रिया