शनिबार, वैशाख १५, २०८१

बढिरहेको छ ढाड दुख्ने समस्या

नेपालखोज २०८० जेठ १२ गते ६:१०

विश्वभर ढाड दुख्ने बिरामी बढ्दै गएका छन् । ढाड दुख्ने वा तल्लो ढाड दुखाइ धेरै फरक कारणले हुन सक्छ, जस्तै चोट, मांसपेशीको तनाव वा टेन्डन चोट । यस्तो दुखाइ हल्कादेखि गम्भीरसम्म हुन सक्छ । कतिपय अवस्थामा, दुखाइले हिँड्न, सुत्न र दैनिक कार्यहरू गर्न गाह्रो वा असम्भव बनाउन सक्छ । पाँच मध्ये चार जनालाई जीवनको कुनै न कुनै समयमा कम्मर दुख्ने समस्या हुन्छ । यो मानिसहरू स्वास्थ्य सेवा प्रदायकहरू कहाँ पुग्ने सबैभन्दा सामान्य कारणहरू मध्ये एक हो ।

सामान्यतया ढाड दुख्ने, ढाडको तनाव जस्ता समस्या भएका अधिकांश मानिसहरू राम्रोसँग निको हुन्छन् र यसले दीर्घकालीन स्वास्थ्य समस्या सृजना गर्दैन । यद्यपि धेरै जसो मानिसले यो समस्यासँग निरन्तर सामना गरिरहनुपर्ने हुन्छ त्यसैले यसलाई बेवास्ता गर्नु हुँदैन । हालसालैको एक नयाँ अध्ययनले के डरलाग्दो दाबी गरेको छ भने २०५० सम्ममा विश्वभर ८४ करोड भन्दा बढी मानिस ढाडको दुखाइबाट पीडित हुन सक्छन् र यसमा मुख्यतया वृद्ध जनसंख्या बढि हुनेछ ।

यसका लागि अनुसन्धानकर्ताहरूले ३० वर्षभन्दा बढीको तथ्याङ्कको विश्लेषण गरेका छन् । एसिया र अफ्रिकामा ढाड दुख्ने बिरामीमा सबैभन्दा बढी वृद्धि देखिएको छ । अध्ययनले ढाड दुखाइको उपचारका लागि सीमित विकल्पले समस्यालाई बढाएको बताएको छ । यसले स्वास्थ्य संकट निम्त्याउँछ किनभने कम्मर भन्दा तलको दुखाइ अशक्तताको प्रमुख कारण हो ।

हाम्रो विश्लेषणले खासगरि विश्वव्यापी रूपमा ढाड दुख्ने घटनालाई हाइलाइट गर्दछ, जसले हाम्रो स्वास्थ्य प्रणालीमा ठूलो तनाव दिन्छ, अध्ययनका प्रमुख लेखक अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयका प्राध्यापक मानुएला फेरेराले भने । हामीले ढाडको दुखाइ वा लो ब्याक पेनको व्यवस्थापनका लागि सही दृष्टिकोण स्थापित गर्न आवश्यक छ ( फरेराले भने।

अध्ययनले २०१७ यता लो ब्याक पेनका बिरामीहरूको संख्या ५० करोड नाघेको देखिएको छ। सन् २०२० मा ढाड दुख्ने करिब ६१।९ करोड बिरामी देखा परेका थिए । यसको कारणहरूमा धुम्रपान र अधिक तौल हुनु प्रमुख हो । लो ब्याक पेनले प्रायः काम गर्ने उमेरका वयस्कहरूलाई असर गर्छ भन्नु व्यापक रुपमा फैलिएको गलत धारणा हो । शोधकर्ताहरूले उल्लेख गरे अनुसार यो अध्ययनले के पनि पुष्टि गरेको छ भने यो समस्या वृद्ध मानिसहरूमा सामान्य छ ।

अनुसन्धानकर्ताहरुका अनुसार कम्मर दुख्ने समस्या पुरुषको तुलनामा महिलामा बढी देखिन्छ । यो अध्ययनले २०४ भन्दा बढी देश र क्षेत्रहरूबाट १९९० देखि २०२० सम्मको ग्लोबल बर्डन अफ डिजिज डेटाको विश्लेषण गरी ढाडको दुखाइका केसहरूको मापन गरेको थियो । रोगको ग्लोबल बर्डनले देश , समय र उमेर अनुसार मृत्युदर र असक्षमताको विस्तृत खाका पनि निकालेको छ ।

ग्लोबल एलायन्स फर मस्कुलोस्केलेटल हेल्थका सह(अध्यक्ष प्रोफेसर एन्थोनी वुल्फले भने (स्वास्थ्य प्रणालीहरूले विश्वव्यापी रूपमा मानिसहरूलाई असर गरिरहेको लो ब्याक पेनको यो विशाल र बढ्दो बोझको जवाफ खोज्न आवश्यक छ भने ढाडको दुखाइलाई रोक्न र यसको हेरचाहमा पहुँच सुनिश्चित गर्न अझ धेरै काम गर्न आवश्यक छ ।

२०१८ मा विशेषज्ञहरूले द ल्यान्सेट जर्नलमा आफ्नो चिन्ता व्यक्त गर्दै सुझावहरू दिएका थिए विशेष गरी व्यायाम र शिक्षाको सन्दर्भमा । त्यसले के भनेको थियो भने लो ब्याक पेनको अनुपयुक्त उपचारहरू रोक्न र यसको व्यवस्थापन गर्ने तरिकाहरूमा विश्वव्यापी नीति परिवर्तन हुनु आवश्यक छ । लो ब्याक पेनका लागि सिफारिस गरिएका सामान्य उपचारहरूमा केही शल्यक्रिया र केही ओपिओइडहरू प्रभावहीन भएको पाइन्छ अनुसन्धानकर्ताहरूले भनेका थिए ।

फरेराका अनुसार स्वास्थ्यकर्मिहरूले कसरी ढाडको दुखाइका केसहरू व्यवस्थापन गर्छन् र कसरी स्वास्थ्य सेवा प्रणालीले तिनीहरूलाई लागू गर्छ भन्ने कुरामा स्थिरताको अभाव छ । यो अध्ययन द ल्यान्सेट रुमाटोलोजी जर्नलमा प्रकाशित भएको छ ।

प्रतिक्रिया