आइतबार, जेठ ६, २०८१

परिवार नियोजनका साधन र समस्या

डा. अरुणा उप्रेती २०८० असार १७ गते ६:२५
डा. अरुणा उप्रेती

काठमाडौं । परिवार नियोजनका साधनहरूको प्रयोग गर्दा यदि जानकारीको अभाव भयो भने प्रजनन स्वास्थ्यमा प्रभाव पर्ने सम्भावना पनि हुन्छ । आजभन्दा ३२ वर्षअघि म वीर अस्पतालको ‘परिवार नियोजन शाखामा’ अस्थायी कर्मचारी थिएँ । त्यहाँ हामीलाई सात वर्षसम्म प्रयोग गर्न सकिने नरप्लान्टको सुई राख्ने तालिम दिइयो ।

६ महिनामा मैले झन्डै ४०० महिलाको पाखुरामा नरप्लान्ट राखेको थिएँ । तर ६० जना महिलालाई नरप्लान्ट राखेको दुई महिनामै निकाल्नुपरेको थियो । तीमध्ये कसैको धेरै तौल बढेको थियो, कसैलाई लगातार योनीबाट रगत बग्ने समस्या देखिएको थियो । कसैलाई एकदमै धेरै टाउको दुख्ने समस्या भएको थियो । ती महिलाहरूको नरप्लान्ट दुई महिनामै निकालेकामा मैले हाकिमहरूको हपार पनि खानुपरेको थियो ।

‘महिलाहरूलाई टाउको दुख्ने, उच्च रक्तचाप हुने समस्या हुँदैन’ हामीलाई भनिएको थियो । तर वास्तवमा नियोजनका हर्मोनयुक्त साधनले यस्ता समस्या पैदा गर्न सक्छन् । ३० वर्षअघि मैले एक महिलालाई नरप्लान्ट राख्दा दुई महिनापछि उनी मलाई डिप्रेसन भयो नरप्लान्ट निकालिदिनुस् भनेर आइन् । नरप्लान्टले कहिले पनि डिप्रेसन हुँदैन भनेर मैले उनलाई फर्काइदिएँ । त्यसको १५ दिनपछि गएर जाँच गराइछन् ।

मानसिक रोग विशेषज्ञले उनलाई भनेछन्, ‘डिप्रेसन परिवार नियोजनको साधनका कारणले पनि हुनसक्छ । नरप्लान्ट निकालेर आउनुहोस् अनि तपाईंले डिप्रेसनको औषधि खानुपर्ने कि नपर्ने हेरौंला।’ डाक्टरले एउटा चिठी लेखेर ती महिलाको नरप्लान्ट निकाल्न अनुरोध गरे । मैले नरप्लान्ट निकालिदिएँ । १५ दिनपछि महिला खुसी हुँदै आइन् । उनको डिप्रेसन हटेको थियो । पछि मैले विभिन्न पुस्तकमा पढ्दा थाहा भयो कि-वास्तवमा परिवार नियोजनका साधनहरूको प्रयोगले गर्दा कहिलेकाहीँ हुने कुप्रभाव जस्तो- महिनावारी गडबड हुने, धेरै रगत बग्ने समस्या हुनसक्छ ।

दुई वर्षअघिको घटना हो । पूर्वको एक जिल्लामा १५ वर्षीया किशोरीको एक किशोरसँग सम्बन्ध भएपछि महिनावारी रोकियो । उनले सात हप्तामै गर्भपतन गराउने औषधि खाइछन् । तर गर्भपतन गर्न औषधि खाएको दुई दिनपछि उनको पेट एकदमै दुखेछ । उनी बेहोस् भइछिन् । अस्पताल लगेर सोनोग्राम गर्दा थाहा भयो- उनको गर्भ त गर्भनलीमा पो बसेको रहेछ । त्यो फुटेर उनको आन्तरिक रक्तश्राव भएर ज्यानमै खतरा पर्यो ।

शल्यक्रिया गरिएपछि धन्न ज्यान बाँच्यो । तर किशोरीलाई गर्भपतन गराउने औषधि जथाभावी दिने, उनको अवस्था कस्तो भनेर नजाँच्ने र गर्भपतनको औषधी दिने पसलेलाई कुनै सजाय भएन । यस्ता कैयौँ घटना बाहिरै आउँदैनन् । घटनाहरू प्राय: कतै प्रकाशमा पर्न आउँदैन । ३४ वर्षअघि हामीलाई एउटा पनि बच्चा नपाएको महिलालाई डिपो प्रोभेरा सुई दिनुहुँदैन भनेर सिइकाएको थियो । तीन महिनाअघि अछाम पुग्दा मेरो भेट त्यहाँका स्वास्थ्यकर्मीसँग भयो ।

एकै छिनको कुराकानीपछि उनले भनिन्, ‘मेरा विवाह भएको पाँच वर्ष भयो, विवाहलगतै बच्चा नपाउन पहिलो दुई वर्ष मैले डिपो प्रोभेरा सुई लगाएँ तर छोडेको तीन वर्ष भइसक्यो अझै बच्चा भएको छैन । डिपो लगाएपछि मेरो शरीर मोटो पनि हुँदै गएको थियो । अहिले छोडेपछि पनि तौल घटेको छैन ।’ उनको कुरा सुनेर मैले उनलाई सोधेँ, ‘एउटा पनि बच्चा नभई किन डिपो प्रयोग गर्नुभएको ? यस्तो सल्लाह कसले दियो तपाईंलाई ?’ यसको जवाफमा उनले भनिन्, ‘हामीलाई यसैगरी सिकाइएको छ ।

मैले तालिम दिँदा पनि बच्चा नभएका विवाहित दम्पतीले परिवार नियोजनका हर्मोनयुक्त साधन प्रयोग गर्दा हुन्छ भन्छु ।’ मलाई दुःख लाग्यो मैले उनलाई भने, ‘यो गलत कुरा हो । एउटा पनि बच्चा नभएकोलाई मैले कहिले डिपो सुई लगाउने सल्लाह दिन्नँ । स्वास्थ्य मन्त्रालयका कोही पनि डाक्टरहरूले आफ्नो घर परिवारका महिलालाई यस्तो सल्लाह दिँदैनन् । किनभने यसले गर्दा प्रजननमा पछि समस्या पर्नसक्छ ।

हर्मोन सुइहरूको प्रयोग यसरी गर्नु हुन्न।’ परिवार नियोजन, गर्भपतन, आकस्मिक परिवार नियोजन, कन्डम आदिका बारेमा अनेक विज्ञापन र प्रचार आउँछन्, तर जिम्मेवार भएर मात्रै यस्ता साधनहरु प्रयोग गर्नुपर्छ र शरीर परिपक्क नभई यौन सम्पर्कमा लिप्त हुनुहुँदैन भन्ने बारेमा कसैले बोल्दैनन् ?

प्रतिक्रिया