बेलायतका मेयरलाई नेपाल भ्रमणको निम्तो

गुल्मी । गुल्मीका तीन पालिका प्रमुखले बेलायतका मेयरलाई नेपाल (गुल्मी) भ्रमणको निम्तो दिएका छन् । बेलायतकाे रस्मोर बरो काउन्सिल मेयर क्लाइभ ग्रेटन र नेपालका पालिका प्रमुखबीच भएको भेटघाटमा पालिका प्रमुखले निम्ताे दिएका हुन् ।
प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुद्धि जिसी, धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेल, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री र मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याल तथा काउन्सिल मेयर ग्रेटन तथा निवर्तमान मेयर जोन मार्ससँग भेटघाट गरी आपसी सम्बन्धका विषयमा समेत छलफल भएको हो ।
काउन्सिलका नवनियुक्त मेयर ग्रेटनको पदबहाली तथा शपथ ग्रहण र निर्वमान मेयर मार्सको पदबहाली हस्तान्तरण कार्यक्रमको अवसर पारेर उक्त भेटघाट भएको हो। भेटघाटमा नेपाली पालिका प्रमुखहरुले समग्र नेपालको स्थानीय तहको अवस्था र विकासका बारेमा जानकारी गराएका थिए । ऐतिहासिक सम्बन्धले दुवै पक्षबीच सांस्कृतिक, पर्यटन, शिक्षा तथा व्यापारका क्षेत्रमा थप सहयोग पुग्ने आशा व्यक्त गर्दै गुल्मी भ्रमणका लागि आग्रह गरेको धुर्काेट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताए ।
डेपुटी मेयर मारा माकुनुरा र काउन्सिलका लिडर डेभिड क्लिफर्डसमेत सम्मिलित भेटघाटमा स्थानीय तह र सेवाप्रवाहका साथै नेपाली भाषी तथा ब्रिटिश गोर्खा अवस्थाबारे परामर्श र जानकारी आदानप्रदानसमेत भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार बुद्धि जीसीले बताए ।
कार्यक्रमको संयोजन नेपाली मूलका काउन्सिलर जीव बेलबासे, नेम थापा र धन सार्कीले गर्नुभएको थियो । उक्त समारोहमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर, गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष ओमप्रसाद थापा लन्डन, नेपाल न्युजका सम्पादक शिव भन्डारीलगायतको उपस्थिति रहेको थियो । INS
प्रतिक्रिया