आइतबार, असार १, २०८२

विश्वकर्मालाई कांग्रेसको प्रचार विभाग प्रमुखको जिम्मेवारी

नेपालखोज २०८० जेठ १२ गते १४:०५

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । सभापति शेरबहादुर देउवाले विभाग गठनको प्रारम्भ गर्दै पार्टीको प्रचार विभाग प्रमुखमा विश्वकर्मालाई जिम्मेवारी दिएका हुन् ।

साधारणतया प्रवक्ता नै पार्टीको प्रचार विभाग प्रमुख बन्ने अभ्यास रहेको कांग्रेसमा प्रवक्ता रहेका प्रकाशशरण महत अर्थमन्त्री बनेपछि प्रवक्ता महत नै रहिरहने गरी प्रचार विभागको प्रमुखमा विश्वकर्मालाई जिम्मेवारी दिइएको हो ।

विधानबमोजिम महाधिवेशन भएको ६ महिनाभित्र विभागहरू गठन गरिसक्नुपर्ने हो । तर देउवाले अहिलेसम्म कुनै पनि विभाग गठन गरेका थिएनन् । प्रचार विभागको जिम्मेवारी पाएका विश्वकर्मा सभापति देउवाका विश्वासपात्र हुन् ।

पार्टीबाट पटक–पटक केन्द्रीय सदस्य र मन्त्रीसमेत भइसकेका विश्वकर्मा १४ औँ महाधिवेशनमा सहमहामन्त्रीको आकांक्षी थिए । तर सभापति देउवाले उनलाई उम्मेदवार नबनाएपछि उनले कुनै पनि पदमा उम्मेदवारी दिएनन् । सभापति देउवाले पछि केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका थिए ।

प्रतिक्रिया