२० मिनेटका लागि स्थगित गरिएको संसद बैठक शनिबार सारियो

नेपालखोज २०८० जेठ १२ गते २०:००

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः बस्दै नबसी साढे ६ घन्टापछि शनिबारको लागि सारिएको छ ।

नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जलहरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निष्कर्षमा पुग्न नसकेपछि सभामुखले शनिबार अपराहन्न ४ बजेका लागि बैठक सारेका छन् ।

नेताहरुका अनुसार एमालेले पशुपतिनाथको जलहरीमा सुनको सट्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले पित्तल हालेको भन्ने माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने एकसूत्रीय अडान राखिरहेका छन् ।

माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।

बैठकमा नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने तयारी थियो ।

प्रतिक्रिया