शनिबार, जेठ ५, २०८१

महिलाहरु प्रती तालिबानि व्यवहार अपराध हो

नेपालखोज २०८० जेठ १३ गते ८:३९

एजेन्सी । एमनेस्टी इन्टरनेशनल लगायत इन्टरनेशनल कमिसन अफ जुरिष्टले तालिबानले महिला विरुद्ध लगाएको प्रतिबन्धलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएकाले त्यसको छानबिन गरिनुपर्ने माग गरेका छन् ।

एम्नेस्टी इन्टरनेशनल तथा इन्टरनेशनल कमिसन अफ जुरिष्टले जारी गरेको प्रतिवेदनमा यस्तो माग गरिएको हो । प्रतिवेदनले अफगानिस्तानमा महिला तथा केटीहरूको अधिकारमा तालिवानले लगाएको प्रतिबन्धको विवरण दिन्छ ।

अगस्ट २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबानले महिला अधिकारलाई गम्भीर रूपमा सीमित गरेको छ र उनीहरूको शासन तानाशाही भएको छ ।

महिलाहरूलाई शिक्षा र रोजगारीमा मात्र होइन यात्रा र चिकित्सा सेवा लिन प्रतिबन्ध लगाइएको छ । एम्नेस्टीका महासचिव एग्नेस कालामार्ड भन्छन , यी सबै काम अन्तर्राष्ट्रिय अपराध हुन् । तिनीहरू संगठित, विस्तृत र सुनियोजित छन् ।

दुबै संस्थाहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लाई अफगानिस्तानको अवस्थाका बारेमा चलिरहेको अनुसन्धानमा यौन आक्रमण जस्ता मानवता विरुद्धको अपराधू थप्न अपील गरेका छन् ।

संगठनहरूले संयुक्त राष्ट्र मानव अधिकार परिषद्को आगामी सत्रमा तालिबानद्वारा हुने यौन दुर्व्यवहार र अन्तर्राष्ट्रिय कानून अन्तर्गत अन्य सम्भावित अपराधहरू का बारेमा छलफल गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन ।

क्यालामार्डले तालिबानका कारबाहीका लागि अहिले सम्म भएका भन्दा बलियो अन्तर्राष्ट्रिय प्रतिक्रिया हुनु पर्ने बताएका छन् । लैङ्गिक उत्पीडनको यो प्रणालीको पतन हुनुपर्छ, उनले भनेका छन् ।

तालिबानले यो रिपोर्टमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यसअघि तालिबानले यस्ता रिपोर्टलाई पक्षपाती र आफु विरुद्धको प्रचार भन्दै आएको छ ।

अप्रिलमा संयुक्त राष्ट्र सुरक्षा परिषदले सर्वसम्मतिले अफगानिस्तानमा महिला तथा केटीहरूको पूर्ण, समान, अर्थपूर्ण र सुरक्षित सहभागिताू सुनिश्चित गर्न तालिबानलाई आह्वान गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया