शुक्रबार, वैशाख १४, २०८१

सुडानको डार्फरमा युद्ध चर्किएको दाबी, युद्धविराम मध्यस्थकर्ताद्वारा खण्डन

नेपालखोज २०८० जेठ १३ गते ९:००

सुडान । सुडानको पश्चिमी क्षेत्र डार्फरमा शुक्रबार प्रतिद्वन्द्वी सुडानी सेनाबीच भएको युद्धविरामको चौथो दिनमा पनि द्वन्द्वका घटना भएको र युद्धविराम सम्झौताको उल्लङ्घन भएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् । भीषण भिडन्तले अमेरिका र साउदी अरबका पर्यवेक्षकले युद्धविरामप्रति सबैको ‘सम्मान’ बढेको तर छिटफुट आक्रमणका घटना भएको बताएका छन् ।

एक हजार आठ सय जनाको ज्यान जाने गरी भएको र १० लाखभन्दा बढी मानिस विस्थापित भएको हप्तौँलामो युद्धपछि सोमबार अबेर राति युद्धविराम लागू भएको केही मिनेटमै हवाई आक्रमण र गोली चलेको जानकारी राजधानी खार्तूमका स्थानीय प्रत्यक्षदर्शीले दिएका छन् । सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले एकअर्कालाई यस हप्ता थप उल्लङ्घनको आरोप लगाए पनि सम्झौता उल्लङ्घन घटनामा दुवैथरीको संलग्नता रहेको बताइएको छ ।

संयुक्त राज्य अमेरिका र साउदी अरबले पछिल्लो सम्झौताको मध्यस्थता गरेका हुन् । उनीहरूले विशेष गरी बुधबार सम्झौता लागू भएदेखि ‘गम्भीर उल्लङ्घन’का घटना नभएको बताएका छन् । वासिङ्टनले आफ्नो ‘अनुगमन संयन्त्र’ले पत्ता लगाएका उल्लङ्घनका लागि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ, तर अहिलेसम्म कुनै पनि पक्षलाई लक्षित गरेको छैन । गत अप्रिल १५ मा सुरु भएको द्वन्द्वमा सुडानी नेता जनरल अब्देल फतह अल–बुरहानले आफ्ना पूर्व सहयोगी मोहम्मद हमदान डग्लोविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन् ।

बुरहान र डग्लोले सन् २०२१ मा ‘कू’ गरी सङ्क्रमणकालीन नागरिक सरकारलाई अपदस्थ गरेको थियो तर पछि उनीहरूबीच सत्ता सञ्चालनका दौरानमा तिक्ततापूर्ण सम्बन्ध बनेको छ । शुक्रबार एक संयुक्त वक्तव्यमा मध्यस्थहरूले ‘सम्झौताका कारण सुधारिएको अवस्था’ सम्मानपूर्ण रहेको बताए । उनीहरूले ‘दुवै पक्षहरूलाई थप उल्लङ्घनको विरुद्ध चेतावनी दिँदै उनीहरूलाई (बिहीबार) युद्धविरामप्रति थप सम्वेदनशील बन्न आग्रह गरेका छन् ।

प्रतिक्रिया