बिहीबार, वैशाख ६, २०८१

निकटतम प्रतिस्पर्धीका रुपमा पराजित महिला उम्मेदवार

नेपालखोज २०७९ मंसिर १५ गते १२:२८

काठमाडौँ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । ती मध्ये नौ महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)बाट बारा–३ बाट ज्वालाकुमारी साह, धनुषा–३ बाट जुलीकुमारी महतो, सुनसरी–३ बाट भगवती चौधरी र कास्की–२ बाट विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

यसैगरी तेह्रथुम–१ बाट नेपाली कांग्रेसकी सीता गुरुङ, दाङ–२ बाट नेकपा (माओवादी केन्द्र)की रेखा शर्मा, कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की र सोही पार्टीकी सोबिता गौतम काठमाडौँ–२ बाट निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा निकटतम प्रतिस्पर्धीका रूपमा पराजित हुनेमा १५ महिला उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा एक, कर्णाली प्रदेशमा एक, लुम्बिनी प्रदेशमा पाँच, गण्डकीमा एक, बागमती प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा तीन निकटतम प्रतिस्पर्धी महिला उम्मेदवार बनेका छन् । पराजित हुने अधिकांश पूर्वसासंद हुनुहुन्छ ।

प्रदेश १ : मोरङ निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसकी सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग एक हजार दुई सय आठ मतले पराजित हुनुभयो । उहाँले ३१ हजार नौ सय ४० मत प्राप्त गर्नुभयो । सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ जनता समाजवादी पार्टीका अशोक राईको निकटतम प्रतिस्पर्धी बन्नुभयो । मतगणनाका क्रममा केही समय अग्रता लिनुभएकी तामाङ अन्तिम मतपरिणाममा भने चार सय ५३ मतान्तरले राईसँग पराजित हुनुभयो । उहाँले १६ हजार छ सय छ मत ल्याउनुभएको हो । एमालेकी मञ्जुकुमारी चौधरी उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्कासँग पराजित हुनुभएको छ । डा खड्कासँग दुई हजार तीन सय ७९ मतान्तरले चौधरी पराजित हुनुभएको थियो ।

मधेश प्रदेश : सिरहा–२ मा जनता समाजवादी पार्टी (जसपा) का राजकिशोर यादवसँग कांग्रेसकी चित्रलेखा यादव एक हजार एक सय ५० मतान्तरले पराजित हुनुभयो । चित्रलेखाले २३ हजार २८ मत प्राप्त गर्नुभयो ।

कर्णाली प्रदेश : जुम्ला–१ मा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीको निकटतम प्रतिस्पर्धी बन्नुभयो । उहाँले ११ हजार नौ सय ५९ मत प्राप्त गर्नुभएको थियो भने शाहीले २२ हजार आठसय १९ मत प्राप्त गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश : दाङ–१ मा एमालेकी शान्ता चौधरी नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीको निकटतम प्रतिस्पर्धी बन्नुभयो । शान्ता मेटमणिसँग पाँच हजार ८३ मतान्तरले पराजित हुनुभयो । शान्ताले २१ हजार चार सय ९३ मत प्राप्त गर्नुभएको थियो । दाङ–३ मा एमालेकी कोमल वली कांग्रेसका दीपक गिरीको निकटतम प्रतिस्पर्धी बन्नुभयो । गिरी ३६ हजार नौ सय ११ मतसहित निर्वाचित हुनुभयो । गिरीसँग सात हजार आठ सय १९ मतले वली पराजित हुनुभयो । प्यूठान–१ मा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल एमालेका सूर्यबहादुर थापा क्षेत्रीसँग पराजित हुनुभयो । थापा ४१ हजार एक सय १८ मत ल्याई निर्वाचित हुँदा पाँच हजार तीन सय चार मतान्तरले पौडेल पराजित हुनुभयो । पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गर्नुभएको थियो । अर्घाखाची–१ मा कांग्रेसकी पुष्पा भुसाल (गौतम) एक हजार सात सय ३० मतले एमालेका टोपबहादुर रायमाझीसँग पराजित हुनुभयो । भुसालले ४० हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको थियो । गुल्मी–२ मा नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्री एमालेका गोकर्णराज विष्टसँग दुई हजार ३५ मतान्तरले पराजित हुनुभयो । झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गर्नुभयो ।

गण्डकी प्रदेश : बागलुङ–२ मा एमालेकी मञ्जु शर्मा चार हजार छ सय एक मतान्तरले माओवादी केन्द्रका देवेन्द्र पौडेलसँग पराजित हुनुभयो । शर्मा २० हजार एक सय ९३ मत प्राप्त गरी पौडेलको निकटतम प्रतिस्पर्धी बन्नुभयो ।

बागमती प्रदेश : मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) दुई हजार तीन सय ८६ मतान्तरले राप्रपाका सिंहसँग पराजित हुनुभयो ।

सुदूरपश्चिम प्रदेश : कञ्चनपुर–१ मा एमालेका तारा लामा तामाङ निर्वाचित हुनुभयो । उहाँको निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी बीना मगर हुनुहुन्थ्यो । पाँच हजार पाँच सय ४३ मतान्तरले पराजित हुनुभएको मगरले १९ हजार चार सय मत प्राप्त गर्नुभयो । कन्चनपुर–३ मा कांग्रेसका रमेश लेखकसँग एमालेकी निरुदेवी पाल १२ हजार ९० मतान्तरले पराजित हुनुभयो । डोटी–१ मा एमालेकी गौरीकुमारी ओली, एकीकृत समाजवादीका प्रेमबहादुर आलेसँग चार हजार दुई सय छ मतान्तरले पराजित हुनुभयो ।

आन्तरिक सङ्गठन बलियो भएन

एमालेकी गौरीकुमारी ओली भन्नुहुन्छ, “मैले जति मत पाएकी छु त्यो जनताले स्वःस्फूर्त दिएको मत हो । म उहाँहरूको मनमा बस्न सफल भएको छु ।” सोही पार्टीकी कमल वली मतदाता शिक्षाका अभावमा बदरमतको कारण पनि आफ्नो मत काटिएको बताउनुहुन्छ पराजित भएपछि निर्वाचन समीक्षा गर्दै एमालेकी पाल भन्नुहुन्छ, “मेरो हारको मुख्य चुनौती गठबन्धन बन्यो।” गठबन्धनका तर्फबाट कांग्रेसकी पराजित कोइराला भन्नुहुन्छ, “गठबन्धन भित्रबाटै सहयोग भएन, आन्तरिक सङ्गठनहरू बलियो भएन । मलाई गठबन्धनका सबै दलबाट भोट प्राप्त भएन ।” सोही पार्टीकी यादवले भन्नुभयो “गठबन्धनभित्रका साथीहरूबाट नै मत पाइनँ । हामीले सुरुमा आकलन गरेको गठबन्धनको मतले मेरो जित सुनिश्चित थियो । मैले उहाँहरूलाई विश्वास गरेँ । अन्तिममा भित्रबाटै धोका भयो ।”राष्ट्रिय स्वतन्त्र पार्टीका तामाङले निर्वाचनमा पहिलोपटक उम्मेदवार हुँदा जनताले विश्वास गरेर आफूलाई दिएको मत महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया