युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ ।
आइतबारबाट एकीकृत कारोबार शुरु गरेको कम्पनीले आगामी चार वर्षभित्र सर्वश्रेष्ठ –५ निर्जीवन बीमा कम्पनीभित्र पर्ने उद्घोष गरेको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरेका थिए । मर्जरसँगै कम्पनीको चुक्ता पुँजी एकअर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीको नेटवर्थ तीन अर्ब २६ करोड ३५ लाख पुगेको छ । त्यसैगरी शाखा संख्या एक सय र कर्मचारी संख्या पाँच सय ८१ कायम भएको छ ।
बीमालेख संख्या एक लाख ९२ हजार ८२५ र कुल प्रिमियम दुई अर्ब ३९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । नियमनकारी निकायले तोकेका क्षेत्रहरुमा गरिएको कम्पनीको लगानी तीन अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।
समारोहलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिए । बीमा क्षेत्रमा असीमित जोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरु गाभ्ने नीति ल्याएको उनले बताए ।
मर्जरपछिको कम्पनीमा सिनर्जी ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न उनले सुझाए । उनले बीमालेखको लागत घटाउन र भइरहेका बीमालेखमा थप सुविधा के दिन सकिन्छ खोज्न पनि सल्लाह दिए । अब उप्रान्त बीमा कम्पनीहरुलाई मापदण्ड पूरा नगरी शाखा खोल्ने अनुमति नदिने पनि उनले सो अवसरमा बताए ।
निश्चित रकमसम्मको दाबी क्षेत्रीय कार्यालयबाट भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने तथा सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा उनको जोड छ । समारोहमा स्वागत मन्तव्य राख्दै युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्त श्रेष्ठले गुणस्तरीय सेवा दिन र बीमाको लागत घटाउन कम्पनी मर्जरमा गएको बताए ।
कम्पनीको पुँजी बढाएर ठूलो बनाउनुपर्ने आवश्यकता महसुस भइरहेकै बेला नियामकले चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएपछि दुई कम्पनीबीच मर्जर भएको उनको भनाई छ ।
अब कम्पनीले नयाँ नयाँ क्षेत्रमा लगानी गर्र्दै लगानीकर्तालाई उच्चतम प्रतिफल र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उनले बताए । भारत र बंगलादेशसँग तुलना गर्दा जनसंख्याको अनुपातमा बीमा कम्पनी धेरै भएको आफूहरुले पनि अनुभव गरेको श्रेष्ठले बताए ।
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष आजाद श्रेष्ठले चार वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नविन प्रडक्टसहितको निर्जीवन बिमा सेवा दिने ५ सर्वश्रेष्ठ कम्पनीको पंक्तिमा उभ्याउने बताए ।
चार वर्षभित्रै व्यक्ति, व्यवसाय एवं संस्थाहरुलाई वित्तीय सुरक्षा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउने निकायको सूचीमा कम्पनीलाई समावेश गराउने, प्रविधिको उच्चतम प्रयोग गर्दै बीमा सेवालाई डिजिटल इन्स्योरेन्समा परिणत गर्ने र चीरस्थायी एवं नैतिक तवरले कम्पनी सञ्चालन गरी असल कर्पोरेट नागरिक बनाउने योजना उहाँले सो अवसरमा सुनाए ।
‘पुरानोको अनुभव र नयाँको भिजनको फ्युजनबाट अभूतपूर्व सिनर्जी उत्पन्न हुने हाम्रो विश्वास छ,’ समारोहमा धन्यवाद ज्ञापन गर्ने क्रममा अध्यक्ष श्रेष्ठले भने, ‘आगामी दिनमा अझ सन्तुलित र व्यावसायिक व्यवस्थापनमार्फत अगाडि बढ्दै सर्वश्रेष्ठ सेवाको ग्यारेन्टी गर्नेछौं ।
उपलब्ध आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै देशका दूर दराजसम्म बीमा सेवा विस्तार गर्नेछौं ।’ सेवाप्रवाहलाई अझ छिटो छरितो र विश्वसनीय बनाउँदै मित्रवत् वातावरणमा सेवा प्रवाह एवं दाबी भुक्तानीलाई शीघ्र र सहज बनाउनेतर्फ केन्द्रित हुने पनि उनले बताए ।
कम्पनीलाई नयाँ उचाइमा पुर्याउन स्पष्ट भिजन, नवीन कार्यशैली, अटल इमानदारी र समर्पणका साथ अघि बढ्ने उनको भनाइ छ । ‘राज्यलाई सक्दो बढी योगदान र शेयरधनीलाई उच्चतम प्रतिफलको ग्यारेन्टी गर्नुपर्ने कुरालाई हमेसा मनमा राखेर कदम चाल्नेछौं,’ अध्यक्ष श्रेष्ठले भने ।
निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कम्पनीलाई शुभकामना दिने क्रममा नयाँ कम्पनीलाई अनुमति दिँदा नियामकले विचार पुर्याउनुपर्ने बताए ।
नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमा कम्पनीहरु बीमा सेवा नपुगेको जनसंख्यामा पुग्नुपर्नेमा जोड दिए ।
समारोहमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिस्ट्रारको कार्यालय रसिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख तथा उच्च अधिकारीहरु सहभागी रहेका थिए ।
त्यसैगरी विभिन्न बैंक वित्तीय संस्था र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, दुवै कम्पनीका संस्थापक सेयरधनी लगायतको पनि बाक्लो सहभागिता थियो ।

प्रतिक्रिया