पाँच जना अर्थमन्त्रीले १० बर्षमा ल्याए झण्डै १०० खर्बको बजेट

काठमाडौं । नेपालमा स्थिर सरकार नहुने कारणले गर्दा पनि बिकास निर्माणका कामहरु प्रभावित हुने गरेको देखिएको छ ।
स्थिर सरकार नहुँदा बजेटको निर्धारित लक्ष्य पुरा नहुने, कार्यान्वयन पक्ष फितलो हुनुले पनि बिकास निर्माणका कामहरु प्रभावित हुने गरेको देखिएको हो ।
स्थिर सरकार नहुँदा पछिल्लो १० बर्षको अवधिमा पाँच जना फरक व्यक्तिहरु अर्थमन्त्री भएको र ति अर्थमन्त्रीहरुले एक सय खर्ब बराबरको बजेट ल्याईसक्दा पनि मुलुकको अवस्था उल्लेखरुपमा सुधार भएको छैन ।
अर्थमन्त्रायबाट प्राप्त तथ्यांक अनुसार आ.व २०७०–०७१ देखि आव आ.व २०७९–०८० सम्म एक सय खर्बको बजेट आईसकेको छ । जसमध्ये आ.व २०७९–०८० मा तत्कालीन अर्थमन्त्री जर्नादन शर्मा (प्रभाकर) ले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैंयाँको बजेट ल्याएका थिए ।
यसअघि अर्थात आ.व २०७८–०७९ मा भने अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैंयाँको बजेट ल्याएका थिए । यसैगरी आ.व २०७७–०७८ को लागि अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाँ बराबरको बजेट ल्याएका थिए ।
अर्थमन्त्रालयका अनुसार आ.व २०७६–०७७ को लागि भने अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैंयाँ बराबरको बजेट ल्याएका थिए । यसैगरी आ.व २०७५–०७६ मा पनि अर्थमन्त्री डा. खतिवडाले नै बजेट ल्याएका थिए । उक्त बर्षको लागि खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।
त्यसपछि अर्थात आ.व २०७४–०७५ को लागि भने अर्थमन्त्री कृष्ण बहादुर महराले १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख रुपैंयाँ बराबरको बजेट ल्याएका थिए । आ.व २०७३–०७४ को लागि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैंयाँ बराबरको बजेट ल्याएका थिए ।
अर्थमन्त्रालयका अनुसार आ.व २०७२–०७३ को लागि भने अर्थमन्त्री डा. रामशरण महतले आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख रुपैंयाँ बराबरको बजेट ल्याएका थिए ।
डा. महत कै नेतृत्वमा आ.व २०७१–०७२ को लागि पनि बजेट आएको थियो । उक्त बर्षको लागि डा. महतले छ खर्ब १८ अर्ब १० करोड रुपैंयाँ बराबरको बजेट ल्याएका थिए । यसैगरी आ.व २०७०–०७१ मा पनि अर्थमन्त्री डा. रामशरण महत कै नेतृत्वमा पाँच खर्ब १७ अर्ब २४ करोड रुपैंयाँ बराबरको बजेट आएको थियो ।
| क्र.स | आर्थिक बर्ष | बजेटको सिलिङ | बजेट घोषणा गर्ने अर्थमन्त्री |
| १ | आ.व २०७९–०८० | १७ खर्ब ९३ अर्ब ८३ करोड | जर्नादन शर्मा (प्रभाकर) |
| २ | आ.व २०७८–०७९ | १६ खर्ब ४७ अर्ब ५७ करोड | बिष्णु प्रसाद पौडेल |
| ३ | आ.व २०७७–०७८ | १४ खर्ब ७४ अर्ब ६४ करोड | डा. युवराज खतिवडा |
| ४ | आ.व २०७६–०७७ | १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख | डा. युवराज खतिवडा |
| ५ | आ.व २०७५–०७६ | १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख | डा. युवराज खतिवडा |
| ६ | आ.व २०७४–०७५ | १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख | कृष्ण बहादुर महरा |
| ७ | आ.व २०७३–०७४ | १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख | बिष्णु प्रसाद पौडेल |
| ८ | आ.व २०७२–०७३ | ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख | डा. रामशरण महत |
| ९ | आ.व २०७१–०७२ | ६ खर्ब १८ अर्ब १० करोड | डा. रामशरण महत |
| १० | आ.व २०७०–०७१ | ५ खर्ब १७ अर्ब २४ करोड | डा. रामशरण महत |
(श्रोत: अर्थमन्त्रालय)

प्रतिक्रिया