बिहीबार, चैत १५, २०८०

दूरसञ्चार प्राधिकरणको आफ्नै भू-उपग्रह राख्ने तयारी, ४ परामर्शदाता कम्पनीद्वारा प्रस्ताव पेस

नेपालखोज २०७८ वैशाख २३ गते १८:४१

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्ने तयारीको अर्को चरणमा प्रवेश गरेको छ । नेपालकै स्याटेलाइट राख्ने, खरिद प्रक्रिया र सञ्चालनका लागि परामर्शदाता चाहिएको भन्दै प्राधिकरणले रिक्वेस्ट फर प्रपोजल (आरएफपी) माग गरेको थियो । सोहीअनुरुप चारवटा अन्तर्राष्ट्रिय कम्पनीबाट प्रस्ताव पेस भएको छ ।

यसअघि पाँचवटा अन्तर्राष्ट्रिय परामर्शदाताले आशयपत्र पठाए पनि अहिले आफू परामर्श दाताका रुपमा परामर्श सेवा दिने भन्दै चारवटा कम्पनीहरुले प्रस्ताव पेस गरेका छन् । ‘आज चारवटा परामर्शदाताबाट प्रस्ताव आएको छ,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालखोजसँग भने।

कन्सल्ट्यान्टका प्रस्ताव पेस गर्नेमा केपीएमजी एस्युरेन्स एन्ड कन्सल्टिङ इन्डिया, लन्डन इकोनोमिक्स लिमिटेड लन्डन, एस थ्री टेल आईएनसी दुबई यूएई र युरो कन्सल्ट रहेको अध्यक्ष खनालले बताए । स्पेस पार्टनरसिप इन्टरनेसनलले भने सुरुमा आशयपत्र बुझाएर छनोटमा परे पनि यसपटक उसको प्रस्तावपत्र भने आएन । उनका अनुसार अब यी चारवटा मध्येबाट एउटा कम्पनी छनोट गरी नेपालकै आफ्नै स्याटेलाइट राख्ने, खरिद गर्ने र सञ्चालनका लागि आवश्यक परामर्श लिइनेछ ।

परामर्शदाता कम्पनीले आगामी दिनमा स्याटेलाइट सञ्चालनको ढाँचा तयारसमेत गर्नेछ । सोहीअनुसार नीति तर्जुमा गरी अघि बढ्ने प्राधिकरणले जनाएको छ ।

अध्यक्ष खनालका अनुसार आशयपत्रमा अनुभव तथा योग्यता भएका परामर्शदाताहरुको माग गरिएको छ । ‘अनुभवका आधारमा ५० प्रतिशत, क्षमताका आधारमा १० प्रतिशत तथा योग्यताका आधारमा ४० प्रतिशत अंकभार राखी परामर्शदाता मूल्यांकन गरी छनोट हुनेछन्,’ अध्यक्ष खनालले भने ।

चारैवटा प्रस्ताव प्रधिकरणले अध्ययन र मूल्यांकनपछि एउटा परामर्श दाता छनोट गर्नेछ । ‘छनोट भएको परामर्शदाताले बिजनेस मोडल, स्याटेलाइटको स्पेसिफिकेसन, तयार गरेर प्राधिकरणलाई स्टाटेलाइट खरिद गर्ने कार्यका लागि सहयोग गर्नेछ,’ अध्यक्ष खनालले भने । त्यसपछि स्याटेलाइट किन्नका लागि टेन्डर डकुमेन्ट तयार हुने र स्याटेलाइट किन्ने प्रक्रियामा जाने अध्यक्ष खनालको भनाइ छ ।

विशेषगरी उच्च हिमाली क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन, हाल दूरसञ्‍चार, टेलिभिजन, एफएम रेडियो र डीटीएचले विदेशी स्याटेलाइट कम्पनीसँग खरिद गरी सञ्चालन गर्दै आउनुपर्ने बाध्यता छ । जसकारण महँगोमा ब्यान्डविथमा रकम खर्च गर्नुपर्ने अहिलेको अवस्था रोक्नका लागि प्राधिकरणले आफ्नै स्याटेलाइट राख्ने तयारी गरेको हो ।

नेपालको आफ्नै स्याटेलाइट हुँदा बर्सेनि ठूलो परिमाणको विदेशी मुद्रा बचत हुने देखिन्छ । यसैकारणले आफ्नै स्याटेलाइट राख्ने तयारी थालिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको यो महत्त्वाकांक्षी योजनाबाट प्रविधिको क्षेत्रमा नेपालको पहुँच अन्तरिक्षसम्म जाने हुँदा यसलाई एउटा कोसेढुंगाका रुपमा हेरिएको छ ।

प्रतिक्रिया