शनिबार, जेठ ४, २०८२

नेपाल–भारत सम्बन्ध जीवन्त बनाउनुपर्छ : महासचिव पोखरेल

नेपालखोज २०८० जेठ १६ गते २१:५२

काठमाडाैं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भ्रमणमा नेपाल–भारत सम्बन्धलाई जीवन्त बनाउनुपर्ने बताएका छन् ।

एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफलमा उनले भारतसँग सम्बन्ध फराकिलो र समस्या पनि जटिल रहेको भन्दै समस्यामा केन्द्रित भएर छलफल गरेर सम्बन्धलाई जीवन्त बनाए ।

उनले नेपाली जनता असहज ठानेका सन्धिलाई पुनरावलोकन गर्नुपर्ने भन्दै भारतीय पक्षलाई नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन बुझ्न दवाव सिर्जना गर्नुपर्ने भनाइ राखे । इपिजी प्रतिवेदन नेपाल र भारत सम्बन्धको नयाँ आधारपत्र रहेको भन्दै इपिजी बुझ्न जति ढिला हुन्छ, त्यति नै सम्बन्धमा असर पर्ने महासचिव पोखरेलको भनाइ थियो ।

परराष्ट्रविद् हीरण्यलाल श्रेष्ठले चीन र भारतको विरुद्धको सैनिक गठबन्धन गर्न नहुने बताउनुभयो । उहाँले १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्नुपर्ने भनाइ राखे । नेपाल र भारतका विज्ञ तयार पारेको इपिजी प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्नुपर्ने बताए । अर्का परराष्ट्रविद् सूर्यनाथ उपाध्यायले राजनीतिक दलका नेतालाई कडाइका साथ भारतसँग आफ्नो अडान राख्नुपर्ने बताए ।

उनले जुनसुकै बेला देशका लागि एउटै विचार राख्नुपर्ने बताए । सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारत बनाएका बाँधले गर्दा धेरै नेपाली जनता डुबानमा परेको भन्दै सीमामा बनेका बाँध भत्काउनुपर्ने बताए । उनले नेपाल भारतबीचका धेरै सीमा विवाद रहेकाले प्रधानमन्त्री दाहालले यसपटकको भ्रमणमा सीमा विवाद समस्या समाधान गर्नका लागि भारतीय प्रधानमन्त्री मोदीसँग कूटनीतिक कुरा गर्नुपर्ने बताए ।

प्रतिक्रिया