२२ वर्ष अगाडिको त्यो जेठ १९ !

काठमाडाैं । आजभन्दा २२ वर्ष अगाडिको जेठ १९ गते राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती राज्य लक्ष्मी लगायत राजपरिवारका १० जनाको हत्या भएको थियो ।
उक्त दरवार हत्याकाण्डमा अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह तथा कुमार खड्गविक्रम शाहको पनि निधन भएको थियो । रहस्यमय र विवादास्पद रहेको यो हत्याकाण्डका पछाडि कसको हात थियो भन्ने रहस्य रहस्य नै रह्यो ।
राजदरवार हत्याकाण्डका पछाडि अनेकौ अडकलवाजीहरु चले अनेकौ तर्क वितर्कहरु पनि चले । धेरैले यसमा किताव लेखेरै पैसा छाप्ने कोशिस पनि गरे , तै पनि यो रहस्य सुल्झनुको साटो अझ गहिरिदै गयो । २२ वर्ष भयो दरवार हत्याकाण्ड भएको न त नेपालीले यो घटनालाई बिर्सन सकेका छन न त यो घटनाको कुनै वास्तविकता नै बाहिर आउने सम्भावना छ । यो घटनाको केन्द्रविन्दुमा राखिएका दिपेन्द्रको नै मृत्यु भैसकेको हुँदा दिपेन्द्रको हत्या किन र कसरी भयो भन्ने प्रश्न उब्जनु स्वभाविक छ ।
दिपेन्द्रले गिरिजालाई ‘मैले कु गर्दैछु सहयोग गर्नुपर्छ’ भनेर भन्दा यस्तो पनि हुन सक्छ र ? भनेर ख्यालठट्टा झै मानेका थिए रे गिरिजा । धेरै पछि यो कुरा गिरिजाका सुरक्षा अधिकारीबाट बाहिरिए पनि आफुले कस्तो ग्राण्ड डिजाइनको कुरा भन्न खोजेका हो भन्ने स्पष्ट नै नगराइ गिरिजा पनि बितेर गए । दिपेन्द्रले नशामा रहेको नाटक गरे पनि उनले कुनै पनि प्रकारको लागु पदार्थ सेवन नगरेको डा. उपेन्द्र देवकोटाले भनेका थिए ।
उनले दिपेन्द्रको रगतको नमुना गोप्य रुपमा बेलायतमा पठाएको भने पनि कुन अस्पतालमा छ भनेनन् । खोजि गरे भेटिन सक्छ । मृत्यु भएका राजपरिवारका कुनै पनि सदस्यको पोष्टमार्टम नगरिएको हुँदा भिसेरा प्राप्त हुने कुरै भएन । रगत लागेका कपडाहरु पनि त्यहि समय मै जलाइयो ।
अब आएर कुनै राजनैतिक स्वार्थ सिद्धि गर्न दरवार हत्याकाण्डको छानविन गरेर सत्यतथ्य अगाडि ल्याउँछु भन्नु त्यति विश्वास लाग्दो देखिदैन । राजा विरेन्द्र एवं सम्पूर्ण राजपरिवार प्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया