मंगलबार, वैशाख ४, २०८१

विश्व साइकल दिवसको अवसरमा ‘नेपालमा साइकल’को कथा

सुनील उलक २०८० जेठ २० गते ११:००

साइकल आविष्कारको करिब १०० वर्ष पुग्न लाग्दा सन १९१० मा भारतमा रहेको अङ्ग्रेज सरकारले ३५ हजार थान साइकल बेलायतबाट भारत भित्राएका थिए । यी साइकलहरू विभिन्न प्रयोजनको लागि भित्राइएको थियो । भारत भित्रिएको यही साइकल मध्य केही नेपाल पनि भित्रिएको अनुमान गरिएको छ । त्यस बेलाका राणा श्री ३ महाराजाका छोरा नातिहरूको लागि केही साइकल भित्रिएको अनुमान गरिएको छ ।

श्री ३ वीर शमशेरका वैज्ञानिक छोरा गेहेन्द्र शमशेरको निधन भइसकेको हुँदा नेपालमा साइकलको कुनै वैज्ञानिक आविष्कार हुन नै पाएन । तर उनका छोरा शूरशम्शेर भने नेपालमा साइकल चढ्ने पहिलो व्यक्ति भएको अनुमान गरिएको इतिहास भेटिन्छ । तीर्थनारायण मानन्धरले आफ्नो पुस्तक “काठमाडौँ उहिले र अहिले”मा सुर शमशेर नै साइकल भित्राउने व्यक्ति रहेको अनुमान गरेका छन् । उनको अनुमानमा सन १९०३ लेखिएको छ । तर भारतमा अङ्ग्रेज सरकारको समयमा पहिलो खेपमा ३५ हजार थान साइकल भित्राएको नै सन १९१० मा भएको हुँदा सोही समय नै नेपालमा पनि साइकल भित्रिएको सहजै अनुमान गर्न सक्छौ । यस पछि भारतीय व्यापारी सुधीर कुमार सेनले भारतमा साइकलको व्यवसायको सुरुवात नै गरेका थिए । उनले बेलायतको प्रख्यात साइकल रेलै साइकल (Raleigh cycle)सँग मिलेर सेन रैले साइकल उत्पादन समेत गरेका थिए ।

सन १९१० अर्थात् विसं १९६७ ताका नेपालमा पहिलो पटक साइकल भित्राउने सुर शमशेर सौखिन राणा सन्ततिमा पर्दथे । श्री ३ वीर शमशेरले आफ्ना छोरा गेहेन्द्रशम्शेरको लागि बनाइदिएको काठमाडौँको सबैभन्दा बढी सुविधा सम्पन्न दरबार सेतो दरबार छोरा गेहेन्द्रको युवाकालमा नै देहान्त भए पछि यो दरबार सुर शमशेरको हकमा आएको थियो । सौखिन सुर शमशेरले त्यति बेला नै मूक चलचित्र (silent movie) को ठुलो सङ्ग्रह सेतो दरबारमा राखेका थिए । साथै उनी अत्तरका सौखिन थिए । जसले गर्दा विभिन्न किसिमका अत्तरहरूको सङ्ग्रह पनि उनको थियो । बाजे धीरशम्शेर लखनउमा आक्रमणमा जाने समय नवावको दरबारबाट लिएर आएका विभिन्न अत्तरहरू पनि उनको सङ्ग्रहमा राखिएको थियो । तर दुखद बि.सं. १९९० को वैशाखमा सेतो दरबारमा भएको भयानक आगलागीमा सेतो दरबार मात्र होइन उनको सङ्ग्रहमा रहेको कतिपय महत्त्वपूर्ण वस्तुहरू पनि जलेर नष्ट भए । भनिन्छ उनको सङ्ग्रहका अत्तरहरूको सङ्ग्रहमा आगलागी हुँदा त्यसको वास्नाले काठमाडौ सहर नै सुगन्धित भएको थियो ।

यसरी सुर शमशेरको समय केवल सौखिन राणाहरू बिच मात्र सीमित रहन पुगेको साइकल यसको केही समय पछि । नै विश्व युद्धको चपेटामा विश्वका प्रमुख राष्ट्रहरू पुगे पछि नेपाल पनि अछुतो रहन सकेन । नेपालका तत्कालीन महाराजा श्री ३ चन्द्रशमशेरले पनि अङ्ग्रेजको सहायतार्थ नेपाली युवाहरूलाई गोर्खाली सैनिकको रूपमा युद्धमा होमिन बाध्य बनाए । साथै नेपाली सेनालाई पनि छोरा बबरशम्शेरको नेतृत्वमा प्रथम विश्वयुद्धमा पठाए । युद्धको कारण २ लाख नेपालीहरू होमिए भने करिब २० हजारले जीवन गुमाए । करिब करिब त्यति नै सङ्ख्या अङ्गभङ्ग भएर स्वदेश फर्किए । यसरी युद्धले नेपाली युवाको मृत्यु भए तापनि फर्किएका नेपाली लाहुरेले भने तत्कालीन समयमा नै करिब १५ करोड रुपैयाँ बराबरको भारतीय कम्पनी तथा विभिन्न जिन्सी भित्राएका थिए । यसरी भित्रिएको जिन्सीमा साबुन, चुरोट, लाइटर, ब्लेड, तास, जुत्ता, मोजा आदि थिए । यसको साथै कतै कतै आफूले युद्धमा प्रयोग गरेको साइकल पनि लिएर आएको उल्लेख गरेको भेटिन्छ ।

प्रथम विश्वयुद्धमा सैनिक प्रयोजनको लागि विशेष प्रकारको आर्मी साइकलको पनि उत्पादन सुरुवात भएको थियो । साइकलमा नै बन्दुक राख्न मिल्ने गरी बनाइएका साइकलहरूमा सैनिकहरू लाम लागेर हिँड्दथे । छिटो पुग्न सकिने र सहजै आक्रमणको लागि तैयार हुन सक्ने हुँदा पनि साइकल युनिट नै खडा गरिएको थियो । ५० देखि १०० माइलसम्मको दुरीमा दैनिक हिँड्न सकिने हुँदा पनि साइकल युनिटको महत्त्व प्रथम विश्व युद्धमा अत्यधिक भएको थियो ।

प्रथम विश्व युद्धको समाप्ति पछि स्वदेश फर्किएका केही गोर्खाली सैनिकहरूले बि.सं. १९७५-७७ तिर नेपालमा साइकल भित्राएको अनुमान गरिएको थियो । बि.सं. १९८१ सालमा आइपुग्दा भने राशन व्यापारी अष्टनारायणले असन कमलाक्षीको आफ्नै घरमा आफ्नो बुबाको नाम जोडेर पञ्चनारायण अष्टनारायण साइकल पसल नै खोले । अष्टनारायण कामको सिलसिलामा कलकत्ता पुग्दा उनले बजारमा देखिएको साइकल किनेर नेपालमा पनि बिक्री गर्ने अठोट गरे । उनले कलकत्ताबाट ६ वटा बेलायती हर्क्युलस साइकल किने ।

कलकत्ताबाट रक्सौलसम्म तथा रक्सौलबाट अमलेखगञ्जसम्म रेलमा ती साइकल आइपुग्यो । अमलेखगञ्जबाट लरीमा भिमफेदी ल्याएर त्यहाँबाट बोकेर काठमाडौ ल्याइपुर्‍याइयो । खर्च सर्च जोडेर एउटा साइकलको १०० रुपैयाँ पुग्न गयो । त्यति बेला एउटा ठुलै अफिसरको तलब बल्ल महिनाको १०० हुन्थ्यो । हत्तपत्त कसैको साइकल किन्ने आँट आउँदैनथ्यो । त्यसैले ६ वटा साइकल बिक्न निकै लामो समय लाग्यो । करिब १ वर्षमा साइकल सबै बिके पछि फेरी कलकत्ताबाट नै साइकल ल्याइयो । यस पटक भने रोपवे बनिसकेको हुँदा भिमफेदी देखि भने भरियालाई बोकाउनु परेन । यसरी फिलिप्स, रेलै, हर्कुलस साइकल ल्याएर बेच्न थालेका थिए ।

खानेकुराको व्यापार गर्न पञ्चनारायणको परिवारमा छोरा अष्टनारायणले साइकल बेच्न थाल्दा निकै गाली पनि खाएका थिए । तर पछि भने अष्टनारायणका छोरा तीर्थनारायणले पनि साइकल व्यवसायलाई नै निरन्तरता दिए । तीर्थनारायण पछि त्रिरत्न मानन्धरले पनि व्यवसायलाई निरन्तरता दिए । तीर्थनारायणका छोरा त्रिरत्नको समयमा भने साइकल आम मानिसको लागि आवश्यक भइसकेको थियो । बाबुलाई साइकल व्यवसायमा होमिएका त्रिरत्नले मेकानिकल इन्जिनियरिङ अध्ययन गर्न पोलाण्ड नै पुगे । बाजेको समय देखिको नाममा भने केही छोटो बनाएर पञ्च अष्टनारायण साइकल पसल राखे । निकै ठुलो सपना बोकेर साइकल व्यापारमा होमिएका त्रिरत्नको अचानक २०४० सालमा मोटरसाइकल दुर्घटनामा देहान्त भयो । जसले गर्दा व्यवसायमा व्यवधान आयो ।

छोराहरू सानै भएको हुँदा काकाहरू सहितको संयुक्त परिवारले नै व्यवसाय धानिरहँदा पनि निरन्तरता नहुने हो कि भन्ने सम्म पुग्यो । तर अहिले त्रिरत्नका कान्छा छोरा तिरेकले युवाहरूको रोजाइसँग भिज्दै PANC Cycle नामबाट व्यवसायलाई अझ बढी बिस्तार गरेका छन् । अन्ततः तीर्थनारायणका नाति तिरेकले साइकल व्यवसायलाई निरन्तरता दिइरहेका छन् । पञ्चनारायण अष्टनारायण साइकल पसल यो लामो नामलाई छोट्टाए । सुरुका अङ्ग्रेजी अक्षर PANC लाई मिलाएर PANC Bike नाम राखे ।

नयाँ पुस्ताका नयाँ सोच सँगै अब भने तयारी साइकल मात्र होइन आफूलाई मन पर्ने सामग्री राखेर नयाँ साइकल पनि बनाउने गरिन्छ । तस्बिरमा अष्टनारायणको साइकल पसल देख्न सकिन्छ । २०३२ सालको कार्तिकमा नेवारी नयाँ वर्ष न्हू दयाँ भिन्तुना निस्कने तैयारीमा साइकल चालकहरू देख्न सकिन्छ । साथै इनसेटमा माथि बायाँ तर्फ प्रथम विश्व युद्धमा सहभागी साइकल युनिटका जवानहरू देख्न सकिन्छ ।

प्रतिक्रिया