‘घटस्थापना अर्थात घट स्थापना गर्ने दिन’
आज घटस्थापना, घट स्थापना गर्ने दिन । घट अर्थात शुद्ध पानीले भरिएको कलश स्थापना गर्नु नै दशैको शुरुवात हो । तर हामी नेपालीहरुमा यस दिन कलशको साथ साथै नदीबाट ल्याइएको शुद्ध बालुवामा नदीबाट ल्याइएको शुद्ध जलमा भिजाएर पूजा गरेर जौलाई रोपिन्छ । यस पछि नित्य दिन शुद्ध जल छर्कदै बालुवामा जौंलाई उमारिन्छ । यो विरुवा जसलाई जमरा भनिन्छ । भवँरा वा कुनै पनि किटपतंगले पनि यस जमरामा नछोओस तथा सूर्यको किरण पनि यसमा परेर जूठो नहोस भनेर छोपेर राखिन्छ ।
यसरी छोपेर नित्य बिहान पूजा गरि सिंचेको बिज सातौ दिनमा लहलहाउँदै पहेलीएको हुन्छ । यदि जमरा हरियो छ भने त्यो शुद्ध जमरा मानिदैन । यसरी शुद्ध रुपले तैयार बनाइएको जमरालाई दशौ दिनमा देवीमा अर्पण गरेर देवीकै प्रसादका रुपमा रातो टीका निधारमा लगाएर शुद्ध जमरा शिरमा सिउरिन्छौ । यसरी शुद्ध मनले शुद्ध जमरा चढाएर देवी पूजा गर्ने प्रचलनलाई हामी नै दशै भनेर मान्दछौ । के हामीले देखे जस्तो हामीले पढे जस्तो वा हामीले सुन्दै आए जस्तो नै थियो त दशै ?
पृथ्वीनारायण शाहको एकिकरण अभियान भन्दा अगाडि दशै यस्तो थिएन । उपत्यकाका नेवाःहरु पायाः अर्थात खड्ग जात्रा मनाउँथे । अष्टमीको दिनमा तन्त्र साधनाबाट तैयार गरिएको मोहनी सिन्ह टीकाको दिन लगाएर मोहनी नखः मनाउँथे । तामाङहरु आफ्नै चाड म्हेनिङ मनाउँथे । मगरहरु डस्यक्के मनाउँथे । त्यस्तै थारुहरु सखिया मनाउँदथे । यी चाडहरु यी समुदायले अझै पनि मनाउँदछन् । तर दशै मान्न भने त्यस बेला बाध्य बनाइएको थियो । पृथ्वीनारायण शाह आफू देवीका परमभक्त भएको हुँदा कुनै पनि राज्यमा आक्रमण गर्नु अगाडि देवीको पूजा गर्दथे ।
त्यो राज्यमा विजय गरेपछि त्यो राज्यमा देवीको स्थापना पनि गर्दथे । अहिले देशको बिभिन्न स्थानमा बिभिन्न नामाकरण गरेर स्थापना गरेका देवीहरुमा कतिपय गोर्खा राज्यमा समाहित भए पछि नै स्थापित भएका हुन । दशैमा पूज्यवरहरुका गएर टीका ग्रहण गर्नु स्वभाविकै थियो । ‘आयूर्द्रोणसुते, श्रीयम दशरथे, शत्रुक्षयम राघवे’ श्लोक भट्याउँदै आशिष दिनु स्वभाविकै थियो । तर अचेल यति बिघ्न आशिषको आबश्यकता नै छैन । केवल ‘स्वस्थ्य रहनु, सुखी हुनु’ भने पुग्छ । पृथ्वीनारायण शाहको एकिकरण अभियान पछि दशैको रूपमा ब्यापक भयो ।
आफ्नो राज्य बिस्तार गर्ने सपना पुरा गर्न देवीको बरदान पाएको तथा देवीले सपनामा आएर दुबै हातमा दुइ तरवार थमाएको प्रचार गर्दै पृथ्वीनारायण शाहले एकिकरण अभियानको थालनी गरेका थिए । युद्ध विजय भएको प्रत्येक राज्यमा शक्तिस्वरूप देवीको स्थापना गराउने पूजा गर्ने, फूलपाती भित्राउने तथा बली दिन लगाइयो । साथै हतियार तथा कोटको पूजा गर्न लगाइयो ।
पश्चिम नेपालमा सहज स्विकार्य भएको देवी पूजाको अभियानलाई पूर्वका लिम्बु राज्यले स्विकार्न कठिन थियो । हिन्दु धर्मका अनुयायी नभएका लिम्बुहरूलाई १८३१ को गोरखा राज्यसंगको बाध्यकारी सम्झौतामा हिन्दु बन्न बाध्य बनाइयो । साथै यसको बदलामा लिम्बुहरूले स्वायत्तता पाए । गोरखालीको ऐन कानुन भित्र रहनु परेन तर सुवांगी (मुखिया) प्रथाको शुरूवातले दशमीको दिन कोसेली बोकेर सुवांगीसंग आशिर्वाद लिन जानै पर्ने रित चलाए । शुरुवात जे जसरी भए पनि देशमा दशैलाई राष्ट्रिय पर्वको रुपमा सरकारी मान्यता पाएको दिएको छ ।
केही अपवादलाई छोडेर पनि सबैले दशैलाई मान्न थालेका छन् । मान्ने तरिकामा केही बिबिधता त छ नै तर पनि दशै मानिएको छ । अहिले आएर दशै जस्तो धार्मिक सहिष्णुता तथा भाईचाराको पर्व पनि आफ्नो हैकम, अस्तित्व तथा सामाजिक बडप्पन देखाउने पर्वमा परिवर्तित हुदै गईरहेको छ ।
संस्कार र संस्कारी बन्नु भन्दा वडप्पनको प्रस्तुतिको रुपमा दशै खर्चालु बन्दै गएको छ । सम्पन्नको रवाफले गरिवलाई ऋण लिएर पर्व मनाउन बाध्य बनाइएको छ । आखिर जे जस्तो भए पनि दशै आफ्नो हैसियतले नै मनाऔ । घमण्ड र द्वेष बोकेर दशै नमनाऔ । दशैको खुशियालीमा सबैको कल्याण होस् । स्वस्थ र निरोगी रहोस् । सबैमा दशैको मंगलमय शुभकामना ।
प्रतिक्रिया