श्री त्रि-मोहन मा वि, सङ्क्रान्ति, तेह्रथुम

तस्बिर संकलक सुनील उलक सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, आठराई गाउँपालिका, सङ्क्रान्ति, तेह्रथुममा रहेको यो त्रि-मोहन मा. वि. का पुराना विद्यार्थीहरु कोही मेरो फेसबुकमा हुनुहुन्छ कि हुनुहुन्न होला । विद्यार्थी नभए पनि पक्कै सङ्क्रान्ति बजारका त हुनुहुन्छ होला ।
सिटौलाहरूको नेतृत्वमा बि.सं. १९८९ सालमा आठराई र पाँचथर जोड्न तमोर खोला माथि “सिटौला पुल” बनाएका थिए । ब्रह्मलाल सिटौलाको नेतृत्वमा बनाइएको सो पुलले गर्दा पूर्वमा सिटौलाहरू केही सम्मानित हुन पुगेका थिए । यिनै सिटौलाहरूले नै भाषा पाठशाला खोल्ने तैयारी पनि गरे ।
ब्रह्मलालका नाति बैदार गङ्गाप्रसाद सिटौलाले राणा शासक समक्ष बिन्तिपत्र चढाए पछि पाठशाला खोल्ने अनुमति पाए । १९९२ मा भाषा पाठशालाका रूपमा आठराई मूल पानीमा पाठशाला खुल्यो । नाम नै नराखी खुलेको यो पाठशालामा पछि २००३ सालमा मूल पानीका १७ खम्बाहरूको आर्थिक सहयोगमा पक्की भवन सहित मिडिल स्कुलका रूपमा पढाइ हुन थाल्यो ।
राणाकालमा राणाहरूको प्रशस्त गर्नुपर्ने हुँदा पछि श्री त्रि-मोहन स्कुल नामकरण हुन पुगेको हुनुपर्छ । देवीप्रसाद सिटौला, भानुभक्त सिटौला, देवीभक्त सिटौला, गङ्गाप्रसाद सिटौला लगायत १७ भाइहरूले आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया