कलिलैमा गर्भवती भएपछि बिहे गर्नुपर्ने बाध्यता

नेपालखोज २०८० जेठ २२ गते १२:३४

काठमाडौं । कालिकोटकी कोकिला (परिवर्तित नाम) १७ वर्षकी भइन् । गाउँनजिकैका एक जना युवासँग उनको प्रेम सम्बन्ध थियो । पछि आफू एक्कासि गर्भवती भएकोे खबरले उनी अत्तालिइन् ।

सुरक्षित गर्भपतनबारे जानकारी नपाएकी र घरपरिवार गाउँलेले थाहा पाउने डरले स्वास्थ्यचौकी पुग्ने आँट गरिनन् । त्यसपछि उनले प्रेमीसँग सल्लाह गरिन् । सल्लाहअनुसार प्रेमीले चार घण्टाको पैदल यात्रा गरी मेडिकल पुगेर औषधि ल्याइदिए । त्यसपछि परिवार सुतेको अवस्थामा औषधि सेवन गर्न लगाए र गर्भपतन गराए ।

त्यस्तै दैलेखकै १८ वर्षीया रामसरा (परिवर्तित नाम) एसइई दिएर घरमा बसेकी थिइन् । उनी पनि आफूसँगै अध्यनरत साथीसँगको प्रेम सम्बन्धमा थिइन् । यो कुरा घरपरिवारलाई सुइँको समेत थिएन । एक्कासि उनी पनि गर्भवती भइन् । गर्भवती भएकोे थाहा पाएपछि धेरै कुरा सोचिन्, तर अरु केही उपाए खोज्न नसकेपछि अन्तिममा बिहे गरिन् ।

प्रेम सम्बन्धमा रहँदारहँदै कहिलेकसो यौनसम्पर्क हुन्थ्यो। तर त्यसरी गर्भ बस्ला भन्ने थाहै थिएन । गर्भवती भएर बिहे गरेपश्चात् सपना चकनाचुर भएको रामसरा बताउँछिन् । ‘गर्भपतन गर्न स्वास्थ्य संस्था जान डर र लाज लाग्यो । घरपरिवार र गाउँलेले थाहा पाइहाल्ने हुन् कि भनेर गइनँ ।

कसैले थाहा नपाउँदै बिहे गर्ने सोचमा पुगेँ । छोरी पढेर भोलि आफ्नै खुट्टामा उभिएर केही गर्ली भन्ने सोच बाबाको थियो,’ उनले भनिन्, ‘गर्भवती भएर बिहे गरेँ । बिहेपछि मेरो पढाइ छुट्यो बाबाको सपना पनि टुट्यो ।’

बिहे गरेपछि घरमा पढ्ने सहज वातावरण नभएरको उनी बताउँछिन् । पहिले बाबाले कर गरी–गरी सहर बोलाउनुहुन्थ्यो मानिनँ,’ उनले भनिन्, ‘अहिले न पढ्ने वातावरण छ न जिन्दगीको आस । गर्भावस्थामै गाइबाख्रा डुलाउन जंगल जान्छु ।’

कोकिला र रामसरा समाजका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै कैयौँको जिन्दगीका पाना पल्टिन नपाउँदै बन्द भएका छन्। प्रेम सम्बन्धमा रहेका युवती यौन सम्बन्धसम्म पुग्ने र अन्तिममा आफ्नो इज्जत ठूलो ठानेर गर्भपतन नगरी बिहेजालमा पर्ने जानकारहरू बताउँछन् ।

सुरक्षित गर्भतन सेवामा कानुनी जटिलता

कानुनी जटिलताकै कारण सहजै गर्भपतन गर्ने वातावरण छैन । नेपालको संविधान २०७२ ले महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा परिभाषित गरे पनि केही कानुनी जटिलताकै कारण सहजै गर्भपतन सेवा लिन डराउने गरेका छन् ।

२०५९ सालमा भएको मुलुकी ऐनको एघारौँ संशोधनले गर्भपतनसम्बन्धी व्यवस्थामा मुलुकी ऐनको ज्यानसम्बन्धी महलमा राखेको छ । कानुनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजायको व्यवस्था छ । त्यसैले प्रचलित कानुनले भ्रूण लिंग पहिचान गरी सोका आधारमा गरिने गर्भपतनलाई पनि अपराध मानेको छ ।

महिलाको शरीरमाथि राज्यले लगाएको बन्देज र कानुनी जटिलताका कारण असुरक्षित गर्भपतन हुने गरेको महिला अधिकारकर्मी बताउँछन् । महिलाको प्रजनन स्वास्थ्य अधिकारको संरक्षण गर्न सुरक्षित गर्भपतन सेवा पहुँचयोग्य र सर्वसुलभ बनाउनुका साथै यसको पहुँच सुनिश्चित गरिनुपर्ने उनीहरूको माग छ ।

गर्भपतनका लागि पायक पर्ने ठाउँमा सूचीकृत सेवाप्रदायक संस्था र तालिमप्राप्त जनशक्ति नहुँदा पनि असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्यता रहेको छुमचौर हेल्थ पोस्टका इन्चार्ज लोकबहादुर रावत बताए । विद्यालय उमेरमै सुरु हुने प्रेम सम्बन्ध अन्तिममा शारीरिक सम्पर्कमा पुग्दा र सुरक्षित गर्भपतनबारे जानकारी नहुँदा यस्तो समस्या निम्तिने गरेको उहाँको भनाइ छ ।

सानै उमेरमा शारीरिक सम्बन्धदेखि बिहेसम्म

कर्णालीका सबै जिल्लामा सुरक्षित गर्भपतनको सहज पहुँच नभएको र यससम्बन्धी जनचेतना पनि नभएका कारण गर्भवतीहरू स्वास्थ्य संस्थासम्म पुग्दैन न्। जसकारण कर्णालीभर कतिले सुरक्षित या असुरक्षित गर्भपतन गराउँछन् ।

कोकिला र रामसराजस्तै विवाह बन्धनमा नबाँधिएका वा विवाह हुने उमेर नपुगेका तर असुरक्षित यौन सम्पर्कबाट गर्भवती भएकाहरू समाज तथा परिवारको लाजले विवाह गर्न बाध्य हुने गरेका छन् ।

यहाँका किशोरी काँचै उमेरमा प्रेम सम्बन्धमा पर्ने र शारीरिक सम्पर्कबाट गर्भवती हुने गरेका छन् । यसरी गर्भवती हुँदा बिहे गर्नसमेत बाध्य हुने किशोरीहरू चुलोचौकोमा सीमित हुने गरेका छन् भने सामाजिक बहिष्कार, मानसिक समस्या र पढाइमा समेत बाधा पुग्ने गरेको छ ।

आवरण AI बाट तयार गरिएको डिजिटल आर्ट ।

प्रतिक्रिया