कोशी प्रदेश : माओवादीका दुई मन्त्रीले दिए राजीनामा

नेपालखोज २०८० जेठ २३ गते १५:०६

काठमाडौं । माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा सहभागी भएका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

माओवादी कोशी प्रदेश संसदीय दलले हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

मंगलबार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् । उनीहरू गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, रप्रपाका ६ र जसपाका एक जना प्रदेश सभा सदस्यको समर्थन थियो। जसपाले यसअघि नै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

अब मुख्यमन्त्री कार्की नेतृत्वकझ सरकारलाई राप्रपाको मात्रै समर्थन रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेकाले अल्पमतमा परेको छ ।

अब कांग्रेसका २९, माओवादीको १३, नेकपा ९एकीकृत समाजवादी०को ४ र जसपाको १ गरी ४७ सांसद प्रतिपक्षमा आएका छन् । सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया