आइतबार, वैशाख १६, २०८१

मृत शरीरको नाकको रौं गन्ने वैज्ञानिकले इग्नोबेल पुरस्कार पाए

नेपालखोज २०८० भदौ ३० गते १२:०७

काठमाडौ । चाखलाग्दो र लीक बाट हटेर गरिने खोजका लागि प्रदान गरिने इग्नोबेल पुरस्कारको घोषणा गरिएको छ। इग्नोबेल अवार्ड नयाँ र रोचक आविष्कार गर्ने वैज्ञानिकहरुलाई प्रदान गरिन्छ । यो वर्ष पुरस्कृत भएका आविष्कारहरूमा मृत शरीरको नाकको रौं गन्ने, मरेका माकुरालाई पुन: प्रयोग गर्ने र चट्टान चाट्नुको कारण पत्ता लगाउने जस्ता बिषय समावेश छन्।

यो पुरस्कारहरू हरेक वर्ष रोचक वैज्ञानिक खोजहरूको लागि प्रदान गरिन्छ। ३३ औं इग्नोबेल अवार्ड समारोह अनलाइन स्ट्रिम गरिएको थियो र रेकर्ड गरिएका भिडियो देखाइएको थियो। यो समारोह कोविड महामारीको समयमा पहिलो पटक अनलाइन प्रस्तुत गरिएको थियो र त्यसपछि हरेक वर्ष यो समारोह इन्टरनेट मार्फत प्रसारण गरिन्छ। समारोहमा दश आविष्कारलाई सम्मान गरिएको थियो ।

कस्ता – कस्ता आविष्कार

विजेताहरूमा रसायनशास्त्र र भूविज्ञानको लागि पुरस्कार प्राप्त गर्ने पोल्याण्डका जान सालासिविच समावेश छन्। आफ्नो अनुसन्धानमा उनले धेरै वैज्ञानिकहरूले किन चट्टान चाट्छन् भन्ने प्रश्नको जवाफ खोजेका छन्। चट्टान चाट्नु कुनै पनि भूगर्भशास्त्री र जीवाश्मविद्को अनुसन्धानको एक आवश्यक भाग हो – सालासिविचले लेटर्स अफ द पेलियोन्टोलोजिकल एसोसिएसनमा प्रकाशित पेपरमा लेखेका छन् ।

मेकानिकल इन्जिनियरिङमा यो अवार्ड भारत, चीन, मलेसिया र अमेरिकाका वैज्ञानिकहरूको टोलीलाई प्रदान गरिएको छ जसले मरेको माकुरालाई समात्ने औजारका रूपमा प्रयोग गर्ने प्रविधि विकास गरेका छन्। जुलाई २०२२ मा ‘एडवान्स्ड साइन्स’ जर्नलमा प्रकाशित आफ्नो शोधपत्रमा उनिहरुले लेखेका छन् – प्रकृतिले तयार पारेका जैविक सामग्रीका गुणहरूले यी उपकरणहरू बनाउनु पर्ने आवश्यकतालाई हटाउँछ।

हामी हाम्रा पुर्खाहरूको जीवनमा यसको उदाहरण देख्न सक्छौं जसले जनावरको छालालाई लुगाको रूपमा लगाउने र हड्डीबाट औजार बनाउन प्रयोग गर्थे। उनीहरूले लेखेका छन् हामी जैविक सामग्री उपकरणहरुलाई प्रयोग गर्न तयार रोबोटका रूपमा प्रयोग गरेर शोषण गर्ने प्रस्ताव गर्दछौं किनभने तिनीहरू प्राप्त गर्न र प्रयोग गर्न सजिलो छ।आफ्नो सिद्धान्त प्रमाणित गर्न उनले रोबोटको ग्रहण गर्ने भागहरू सिर्जना गर्न माकुराको प्रयोग गरे।

अन्य विजेताहरू मध्ये एकले शिक्षकको बोरियतले विद्यार्थीहरूलाई कसरी असर गर्छ भनेर अनुसन्धान गरेका थिए । एउटा टोलीले एन्कोवी माछाको सेक्सले समुद्री पानीको स्वादलाई कसरी असर गर्छ भनेर पत्ता लगाएको छ । चपस्टिक्स र पिउनका लागि प्रयोग गरिने नली अर्थात स्ट्र मा करेन्ट छोडियो भने खानाको स्वादमा कस्तो असर पर्छ भन्ने खोजका लागि पनि अवार्ड प्रदान गरिएको छ ।

यी अवार्डहरू ‘एनल्स अफ इम्प्रोभेबल रिसर्च’ पत्रिकाद्वारा प्रदान गरिन्छ। ‘एनल्स अफ इम्प्रोबबल रिसर्च’ म्यागजिनले आफ्नो वेबसाइटमा लेखेको छ – यी प्रत्येक विजेताले केही न केही नयाँ गरेका छन जसले मानिसलाई पहिले हँसाउँछ र त्यसपछि सोच्न बाध्य पार्छ ।

रोयटर्स

प्रतिक्रिया