सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी र पापनासक मानिने देवी संसारीमाईको महापूजा आज

काठमाडाैं । सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी र पापनासक मानिने देवी संसारीमाईको प्रत्येक पाँच वर्षमा हुने महापूजाले जलेश्वरको चहलपहल बढाएको छ । आज जेठ २६ गते असार कृष्ण षष्ठी तिथिमा हुने महापूजाको तयारी पुरा भैसकेको छ ।
परापूर्वकालमा विदेहराज जनकको राज्यकालदेखि नै संसारीमाईलाई सहकालकी देवीका रूपमा मानिदै आइएको जलेश्वर नगरवासी बताउँछन् ।
देवाधिदेव श्री जलेश्वरनाथ महादेवस्थान नजिक स्थापित संसारीमाई देवी दुर्गाकी अवतार र प्रसिद्ध शक्तिपीठका रूपमा वर्णित र पूजित रहेकी जिल्ला समन्वय समिति महोत्तरीका पूर्वप्रमुख जलेश्वर–८ का बासिन्दा सुरेशप्रसाद सिंह बताउनुहुन्छ । यसपालिको संसारीमाई महापूजा साताव्यापी आयोजना हुँदैछ । यस क्रममा जेठ १९ गते शुक्रबार देखि विधिवत महापूजा थालिएको श्री संसारीमाई महापूजा व्यवस्थापन समिति २०८० का अध्यक्ष अशोककुमार साहले जानकारी दिए ।
शुक्रबारका दिन महापूजा सङ्कल्प सम्पन्न गरिएसँगै ग्रामदेवताको आराधना, पाञ्चायन देवीदेवताको पूजनसँगै श्रीमद्भागवत् गीता र चण्डी पाठ सुरु गरिएको साहको भनाइ छ । यसबीचमा जलेश्वर नगरपालिका र नगरभित्रका विभिन्न सामाजिक सङ्घसंस्थाको समन्वयमा दैनिक सरसफाइ, महापूजास्थलको व्यवस्थापन, श्रद्धालुको बसोबास व्यवस्थापन र नगरभित्र ठाउँ–ठाउँमा खानेपानी र शौचालय सुविधा बढाउने काम गरिएको श्री संसारीमाई महापूजा व्यवस्थापन समितिले जनाएको छ । महापूजाको तयारीमा जलेश्वर नगरका प्रत्येक घरघरका सदस्य परिचालित देखिएका छन् ।
महापूजाको अवसरमा देवी संसारीमाईको दर्शन र पूजाआराधनामा सरिक हुन आउने श्रद्धालुबाहेक प्रसाद ग्रहणका लागि घरघरैबाट निम्त्याइने पाहुनाको जमघट निकै बढ्ने समितिका अध्यक्ष साह बताउँछन् । ‘महापूजाको प्रसाद ग्रहणका लागि घरघरैबाट आफन्त डाकिने भएकाले प्रत्येक घरमा १०-२० जना पाहुना हुनु स्वभाविक हो ।’ अध्यक्ष साह भन्छन्, यसअघि २०७५ वैशाखमा भएको महापूजामै सात लाख श्रद्धालु आएका अनुमान गरिएको थियो, यसपालि यो सङ्ख्या झन् बढ्ने अनुमान छ ।
महापूजाका लागि नगरभरि स्वागतद्वार, पण्डाल निर्माणदेखि रङ्गीविरङ्गी धजा गाडिएका छन् । विगतमा प्रत्येक १२ वर्ष र त्यसपछि प्रत्येक सात वर्षमा हुँदै आएको महापूजा पछिल्ला केही दशकयता पाँच वर्षको अन्तरालमा आयोजन गरिन थालिएको हो ।समाजमा अनिष्टका घटना बढ्न थालेपछि त्यसको निवारणका लागि श्री संसारीमाईको महापूजा अघि सारिँदै अहिले पाँच वर्षमा आइपुगेको जलेश्वर–१ का सामाजिक कार्यकर्ता ७० वर्षीय सुधीर साह बताउँछन् ।
श्री संसारीमाईको महापूजा विशेष नगरउत्सव रहँदै आएको जलेश्वर नगरप्रमुख सुरेश साहको भनाइ छ । ‘महापूजा नगरको विशिष्ट अवसर हो र खास पर्व पनि हो’, नगरप्रमुख साह भन्छन्, ‘हामी यसलाई भव्य, शालीन र भक्तिमय बनाउन लागिपरेका छौँ ।’ श्री संसारीमाईको साताव्यापी महापूजाको अन्तिम दिन विशेष तान्त्रिक विधिले माईको आह्वान गरेर पञ्चबलिबाट आराधना गरिन्छ । यस अवसरमा नगरका घरघरैजसोबाट पशुबलि (बोका) दिइन्छ । पाँच वर्ष बीचमा (एकअर्को महापूजाबीचको अवधि) मा घरमा सम्पन्न भएका विवाह, जन्म र अन्य शुभकार्यको भाग अलग्गै बलि दिइनुपर्ने सांस्कृतिक मान्यता रहँदै आएको छ ।

प्रतिक्रिया