बनेपामा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’

काठमाडाैं । बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा बनेपा नगरपालिका-८ स्थित लायकु मञ्चमा आज जेठ २६ गते वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना हुँदैछ ।
रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो मेला आयोजना गर्न लागिएको हो । रोजागरीको खोजीमा रहेका युवालाई दिशानिर्देश गर्न मेला सहयोगी हुने पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताए ।
‘स्वरोजगार बनाउने उद्देश्यले तालिमका लागि सार्वजनिक सूचना गर्दा पनि कोटा अनुसार आवेदन नपर्ने अवस्था छ, यस्तो अवस्थामा मेला युवाको चाहना बुझ्ने अवसर पनि हुनेमा विश्वास लिएका छौँ’, उनले भने ।
बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले मेलाले धेरै युवालाई रोजगारको मार्गमा डोर्याउन सहजीकरण गर्ने दाबी गरेका छन् । मेलामार्फत रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिबीच सम्बन्ध बिस्तार हुने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया