बिहीबार, वैशाख ६, २०८१

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स

नेपालखोज २०८० जेठ २६ गते १८:३५

काठमाडाैं । मुलुकले बैदेशिक रोजगारीबाट प्राप्त गर्नै आय अर्थात रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक वर्षको १० महिनाको प्रतिवेदन अनुसार रेमिट्यान्स रकम २३ दशमलव चार प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव चार प्रतिशतले वृद्धि भई सात अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव दुई प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१ दशमलव चार प्रतिशतले वृद्धि भई चार लाख २१ हजार दुई सय ७९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा तीन दशमलव सात प्रतिशतले वृद्धि भई दुई लाख ३८ हजार नौं सय ७६ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या एक सय ८५ दशमलव पाँच प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर शुन्य दशमलव तीन प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया