एसिया कप – २०२३ पाकिस्तानमा हुँदै

नेपालखोज २०८० जेठ २८ गते ११:०९

एजेन्सी । पाकिस्तानले सन् २०२३ को एसिया कप क्रिकेट प्रतियोगिताको आयोजना गर्दै छ । जसमा नेपाल पनि भारत , पाकिस्तान, श्रीलङ्का , बङ्गलादेशहरूसँगै सहभागी हुँदै छ ।

लामो समयदेखि यो प्रतियोगितालाई लिएर बीसीसीआई र पीसीबीबीच विवाद चलिरहेको थियो । पछिल्लो समय भारत र पाकिस्तानका यी दुई क्रिकेट बोर्डबिचको यो विवाद हट्दै गएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार एसिया कप २०२३ पाकिस्तानमा खेलाइने छ भने प्रतियोगिताका केही खेल पाकिस्तान बाहिर श्रीलंकामा हुनेछन् ।

यो प्रतियोगिताका लागि पीसीबीको प्रस्तावित हाइब्रिड मोडललाई एसियाली क्रिकेट काउन्सिलको आगामी बैठकले अनुमोदन गर्ने तयारी गरेको छ । जसअनुसार एसिया कप – २०२३ का खेल पाकिस्तान र श्रीलंकामा हुनेछन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार जुन १३ मा काउन्सिलले यो टूर्नामेन्ट (एसिया कप २०२३) को हाइब्रिड मोडलको आधिकारिक घोषणा गर्नेछ , जसमा पाकिस्तान संगै श्रीलंकामा एसिया कपका केहि खेल आयोजना गर्न स्वीकृति दिइनेछ । त्यसमा खास गरि भारतका खेल हुनेछन् ।

पाकिस्तानले आफ्नो घरमा एसिया कपका कुल ४ खेल खेलाउने प्रस्ताव राखेको थियो, जसलाई छिट्टै ग्रिन सिग्नल मिल्ने पक्का छ ।

पाकिस्तानमा हुने खेलहरू लाहोरको गद्दाफी स्टेडियममा खेलाइने छन्, जसमा नेपाल विरुद्ध पाकिस्तान, बंगलादेश विरुद्ध अफगानिस्तान, अफगानिस्तान र श्रीलंकाका खेल हुनेछन । भारतका सबै खेल श्रीलंकाले आयोजना गर्नेछ जसमा भारत र नेपाल तथन भारत र पाकिस्तानबीचको खेल पनि हुनेछ ।

यसैगरि पाकिस्तानी टिम २०२३ को एकदिवसीय विश्वकप खेल्न भारत जाने भएको छ । एसिया कपका लागि हाइब्रिड प्रस्ताव स्वीकृत भएपछि पाकिस्तान एकदिवसीय विश्वकपका लागि भारत आउने दाबी पीटीआईको छ ।

यसअघि खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै बीसीसीआईले एसिया कपका लागि पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको थियो ।

त्यसपछि पीसीबीले एकदिवसीय विश्वकपका लागि पाकिस्तानको भारत भ्रमण पनि अस्वीकार गरेको थियो । यस्तो अवस्थामा एसिया कप हाइब्रिड मोडलका साथ सञ्चालन भए पाकिस्तान भारत भ्रमणका लागि तयार हुनेछ ।

प्रतिक्रिया