आइतबार, जेठ ६, २०८१

गेटा आँखा अस्पतालको निःशुल्क आँखा शिविर मार्फत १८८ जनाको फर्कियो आँखाको ज्योति

नेपालखोज २०८० जेठ २८ गते १५:१८

काठमाडौं । नेपाल नेत्र ज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिमका विभिन्न स्थानीय तहहरूसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

नेत्र ज्योति सङ्घ, गेटा आँखा अस्पताल र स्थानीय तहहरूको संयुक्त आयोजनामा डोटी जिल्लाका दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरिएको हो ।

तिन वटा आँखा शिविर मार्फत १ हजार १ सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ । पहुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने हेतुले सङ्घले देशका विभिन्न क्षेत्रहरूमा निःशुल्क आँखा शिविरहरू सञ्चालन गर्दै आइरहेको छ ।

जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा ३५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतिया बिन्दु देखिएका ७३ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।

त्यस्तै डोटी जिल्लाकै बोगटान फुटसिल गाउँपालिकामा जेठ २१ र २२ गते सम्पन्न शिविरमा ३९३ जनाको आँखा परीक्षण गरी ६० जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको बताउँछन् अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज विष्ट ।

त्यसै गरी जेठ १८ र १९ गते अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा सम्पन्न शिविरमा ३९७ जनाको निःशुल्क आँखा जाँच गरी मोतिया बिन्दु देखिएका ५५ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो । तिन वटै आँखा शिविरमा न्यून दृष्टि देखिएका ४५२ बिरामीहरूलाई निःशुल्क चस्मा समेत वितरण गरिएको बताउन् अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्ट ।

अस्पतालका चीफ मेडिकल डाइरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा. सुरेशराज पन्त, डा लिनु रायमाझी लगायत १४ जना प्राविधिकहरूको टोलीले शिविरहरूमा सेवा प्रदान गरेका थिए ।

आर्थिक तथा पहुँचको अभावका कारण दुवै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका बिरामीहरूले आफ्नै घर आँगमा निःशुल्क शल्यक्रियापछि पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए ।

नेपाल नेत्र ज्योति सङ्घ अन्तरगत सञ्चालित गेटा आँखा अस्पतालले सुदूर पश्चिमा थप ३ वटा सेकेन्डरी लेभलका आँखा अस्पताल, २ वटा सर्किजल सेन्टर तथा १७ वटा आँखा उपचार केन्द्रहरू मार्फत यस क्षेत्रका नागरिकहरूलाई सुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

अस्पतालको सेवा सुलभ र गुणस्तरीय समेत भएकाले छिमेकी देश भारतका नागरिकहरू समेत आँखा उपचारका लागि गेटा आँखा अस्पतालमा आउने गर्दछन् ।

अस्पतालले हरेक वर्ष विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थाहरुसंगको सहकार्यमा प्रदेशका नौ वटै जिल्लाहरूका ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहुँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया