सय रुपैयाँको सामानमा पनि भन्सार

काठमाडौं । भारतीय बजारबाट नेपाल भित्रिने सामानमा भन्सार कडाइ गरिएको छ । भन्सार कार्यालयले सूचना निकालेरै १०० रुपैयाँको सामानमा पनि भन्सार उठाउन लागिएको जनाएको छ।
बिनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजस्वसमेत सुक्दै गएपछि बेलहिया सीमा नाकामा कडाइ गर्न थालिएको भन्सार कार्यालयले जानकारी दिएको छ। सीमावर्ती बजारमा हुने अवैध कारोबारलाई निरुसाहित गर्न रूपन्देहीको बेलहिया नाकामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको भन्सार अधिकृतले बताए।
घरायसी प्रयोजनका लागि सामान किन्न भन्दै दैनिक हजारौं नेपाली सीमावर्ती भारतीय सुनौली बजार पुग्ने गर्छन् । भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्व र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेपछि सीमा नाकामा कडाइ सुरू गरिएको हो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सीमा नाका चेकजाँचमा कडाइ सकारात्मक कार्य भएको बताए । उनले यो कार्यले स्थानीय बजार चलायमान हुनुका साथै देशको समग्र अर्थतन्त्रमा समेत प्रभाव पर्ने दाबी गरे । ‘चेकजाँच कडाइलाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘यसले चोरी तस्करीलाई पनि निरुत्साहित गर्छ। बेलहिया नाकाजस्तै अन्य नाकाहरु पनि चेकजाँचलाई कडाइ गर्नुपर्छ ।’
भन्सारमा अहिले नियमनअनुसार भन्सार दर तिर्नुपर्ने बताउँदै आएका छन् । नेपालमा एक सय रूपैयाँभन्दा बढी मूल्यका कुनै पनि सामान आयात गर्दा अनिवार्य भन्सार महसूल तिर्नुपर्ने कानुनी प्रावधान छ । तर व्यावहारिक पक्ष भन्दै यसअघि यो नियम कडाइका साथ कार्यान्वयन गर्ने गरिएको थिएन ।
भन्सार नतिरी सामान भित्रिन नदिन रूपन्देहीको भैरहवा भन्सार कार्यालय, बेलहिया नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारमा कार्यरत कर्मचारी कडाइका साथ खटाइएको छ । भन्सार शुल्क तिर्नेको लाइन देखिन थालेको छ। उनीहरूले पारीबाट किनमेल गरी फर्केकालाई भन्सार प्रज्ञापनपत्र कटाएर भन्सार तिराउने गरेका छन् ।
भन्सार कडा गरिएपछि नेपाली ग्राहक असन्तुष्ट बनेका छन्। ठूला कन्टेनरसमेत मिलेमतोमा भन्सार कटाउने तर घरयासी प्रयोजनका लागि ल्याएको सामानमा अहिले भन्सार तिर्नुपर्छ भन्नु त्यति जायज नभएको उनीहरुको दाबी छ ।
यता उद्योगी–व्यवसायीले भने खुल्ला सीमा नाकालाई व्यवस्थित गर्दै चेकजाँचमा कडाइ गर्नुपर्ने माग गर्दै आइरहेका थिए । यही दबाबका कारण केही दिनदेखि सीमा नाका बेलहियामा चेकजाँचमा कडाइ गरिएको हो ।
सीमा नाकामा कडाइ गरिएपछि राजस्व संकलनमा समेत वृद्धि हुने नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधुप्रसाद पन्थीले भने । उनले भने, ‘सीमापारी भारतबाट सामान खरिद गरेर नेपाल आएपछि अनिवार्य भन्सार प्रक्रियामा गए अवश्य नै राजस्व संकलनमा वृद्धि हुन्छ ।’
यस्तै भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले भारतीय बजारबाट किनमेल गरी फर्किनेलाई भन्सार तिरेर मात्र छाडिएको बताए ।
लक्ष्यको आधा पनि संकलन भएन भन्सार राजस्व
चालू आर्थिक वर्ष २०७९/८० मा बेलहिया भन्सार कार्यालयले लक्ष्यको आधा पनि राजस्व संकलन गर्ने सम्भावना छैन । चालू आवमा १ खर्ब ५५ अर्ब ६० करोड ३८ लाख ७९ हजार रुपैयाँ भन्सार विभागले बेलहियालाई राजस्व संकलनको लक्ष्य तोकेको थियो । गत साउनदेखि वैशाखसम्म १० महिनामा ६२ अर्ब, ३४ करोड ४ लाख ६५ हजार रुपैयाँ कुल लक्ष्यको ४० प्रतिशत मात्रै संकलन भएको अवस्था छ ।
विभागले वैशाखसम्मका लागि १ खर्ब २७ अर्ब ५७ करोड ६३ लाख ५३ हजार रुपैयाँको लक्ष्य तोके पनि संकलित रकम यो लक्ष्यको करिब ४९ प्रतिशत मात्रै भएकाले अब बाँकी महिनामा भेटाउन कठिन भएको भन्सारकै कर्मचारीको आंकलन छ । कुल लक्ष्य भेट्न दुई महिनामा ६० प्रतिशत राजस्व उठाउनुपर्ने हुन्छ ।
बेलहिया भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८र७९ को वैशाखसम्मका लागि १ खर्ब ७ अर्ब १९ करोड ४४ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ संकलन भएको थियो । यो रकम लक्ष्यको ९६ प्रतिशत थियो। गत असोजदेखि राजस्व संकलन घटेको हो ।
गत आर्थिक वर्ष १ खर्ब २७ अर्ब ४२ करोड रुपैयाँ संकलनको लक्ष्य लिएकोमा १ खर्ब १५ अर्ब ८७ करोड रुपैयाँ संकलन भएको थियो जो लक्ष्यको लक्ष्यको करिब ९१ प्रतिशत थियो ।
बेलहिया भन्सार कार्यालय प्रमुख पौडेलका अनुसार मंसिरदेखि केही वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने र केही वस्तु आयातमा रोक लगाइएका कारण राजस्व घटेको बताए । प्रमुख पौडेलका अनुसार बाँकी अवधिमा लक्ष्यको नजिक पनि पुग्न सक्ने अवस्था छैन।

प्रतिक्रिया