कृषिमा आत्मनिर्भर बन्न कृषकसँग राय

नेपालखोज २०८० जेठ २९ गते १४:५८

ढोरपाटन । बागलुङका सबै स्थानीय तह नीति कार्यक्रम तथा बजेट बनाउनमा व्यस्त छन् । नागरिकका गुनासो सुन्ने, सुझाव सङ्कलन गर्ने र उनीहरुको आवश्यकतालाई नीति तथा कार्यक्रममा समावेश गर्ने तयारीमा यहाँका स्थानीय तह जुटेका हुन् ।

ढोरपाटन नगरपालिकाले पहिलो पटक जनस्तरसम्म पुगेर नागरिकसँग सुझाव सङ्कलन गरेको हो । यस वर्षदेखि कृषक, समाजका अगुवा र विषय विज्ञसँग राय सुझाव लिई सोही अनुसार बजेट तर्जुमा गरिने नगरपालिका कार्यालयले जनाएको छ ।

नगरपालिकाले कृषिबाटै यस क्षेत्रको समृद्धिको सम्भावना रहेको भन्दै कृषकसँग कृषिमा आत्मनिर्भर बनाउने सम्बन्धी सुझाव सङ्कलन गरिरहेको छ ।

नीति तथा कार्यक्रममा अनुभवी कृषकको सल्लाह, सुझावलाई सम्बोधन गरी कृषि क्षेत्रमा आवश्यक बजेट तर्जुमा गर्ने तयारी भइरहेको नगर उपप्रुमख धनबहादुर कायत (कल्याण)ले बताए ।

नगरपालिकाका कार्यवाहक प्रमुखसमेत रहनुभएका कायतले कृषिका लागि उत्पादन र अनुदानमा आधारित कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए ।

कृषिमा ढोरपाटनलाई आत्मनिर्भर बनाउन नगरपालिकाले किसानले उत्पादन गरेको सामग्रीलाई भण्डार गर्नका लागि चिस्यान केन्द्र बनाउने उनको भनाइ छ ।

किसानले उत्पादन गरेका वस्तुलाई नगरपालिकाले नै बिक्री गरिदिने वातावरण तयार गर्ने गरी स्थानीयसँग छलफल गरिएको नगर उपप्रुमख कायत बताए ।

उनले भने, ‘अहिलेसम्म वास्तविक कृषकले अनुदान नपाएको भन्ने जनगुनासो आइरहेको छ, अब जथाभावीरुपमा अनुदान वितरण हुँदैन, कषकले बिक्री भएन, सामानले बजार पाएन भन्ने गुनासो गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

नगरपालिकाले उनीहरुले उत्पादन गरेको वस्तुलाई बिक्रीका लागि बजारको व्यवस्थापन गरिदिने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेलगायत योजना अब बन्ने नीति तथा कार्यक्रम समावेश गरी सोही अनुसार बजेट तर्जुमा गरिने नगर उपप्रमुख कायतले बताए ।

प्रतिक्रिया