सुधारको पहल गर्नुपर्ने निकायकै कर्मचारी अटेरी

काठमाडौं । निजामती कर्मचारी कतिसम्म अटेरी छन् र आफ्नो मनोमानी गर्छन भन्ने कुरा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा केहीबेर निरीक्षण गर्दा प्रष्ट हुन्छ ।
सर्वसाधारण सेवाग्राहीबाट मात्र होइन कर्मचारीवृत्तबाटै कर्मचारी समयमा नआउने र कार्यालयमा समेत नभेटिने गरेको गुनासो दिनहुँजसो आउँछ ।
कर्मचारीको अनुशासन र आचरणमा निरन्तर प्रश्न उठेपछि गरिएको छड्के निरीक्षणमा एउटा मन्त्रालयमा मात्र एकैपटक १०३ जना कर्मचारी कारबाहीमा परेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार आन्तरिक छड्के अनुगमन गर्दा १०३ कर्मचारी कारबाहीमा परेका हुन् । कर्मचारी प्रशासनको समग्र व्यवस्थापन र सुधारको जिम्मेवारी पाएको मन्त्रालयमा कार्यरत कर्मचारीसमेत नियमित कार्यालयमा नभेटिने अवस्था छ भने अन्य कार्यालयमा त झन् कार्यालय समयमा कर्मचारीलाई भेट्नै मुस्किल पर्छ ।
कर्मचारी प्रशासनमा देखिएका बेथिति हटाएर समग्र प्रशासनलाई मर्यादित र अनुशासित बनाउन आवश्यक नीतिनियम बनाउने र त्यसको पालना गराउने केन्द्रीय थलो हो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ।
विभागीय मन्त्री अमनलाल मोदीले पनि कर्मचारी प्रशासन सुधार्न तथा कर्मचारीलाई अनुशासन पालन गराउन निरन्तर पहल गरि नै रहेका छन् । तर पनि त्यही मन्त्रालयमा कार्यरत कर्मचारी सबैभन्दा अटेरी छन् । मन्त्रीको निर्देशन सोही मन्त्रालयका कर्मचारीले पालन गर्दैनन् ।
मन्त्रीको निर्देशनअनुरुप काम नभएको गुनासो बढेपछि मन्त्री अमनलाल मोदीले सचिव कृष्णहरि पुष्करलाई आन्तरिक छड्के गर्ने निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन अनुसार,सामान्य प्रशासनका सचिव पुष्करले सोमबार आन्तरिक छड्के निरीक्षण गर्दा १०३ जना कर्मचारी अनुपस्थित रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
छड्के निरीक्षण गर्दा सबैभन्दा बढी नासु र सहायक स्तरका कर्मचारी कारबाहीमा परेका छन्। मन्त्रालयका अनुसार ४३ जना नासु र सहायकस्तरका कर्मचारी, ३६ जना अधिकृत, २३ जना उपसचिव र १ जना सहसचिव तहका कर्मचारी गरी १०३ जना कर्मचारी कारबाहीमा परेका हुन् ।
मन्त्री मोदीको निर्देशनमा गरिएको छड्के जाँचका क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् । अनुपस्थित कर्मचारीलाई कारबाहीस्वरूप कर्मचारीको सोमबारको हाजिरीमा रातो लगाइएको छ
मन्त्री मोदीले कर्मचारीतन्त्रमा सुशासन कायम गर्ने विषय नै आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै आफूले सम्हालेका मन्त्रालयका कर्मचारीमाथि कारबाही प्रारम्भ गरिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार अबदेखि बिहानको सवा १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएका कर्मचारीको हाजिरीमा रातो लगाउने प्रक्रिया थालिएको छ ।
सो मन्त्रालयमा सेवा लिन आउने सेवाग्राहीमध्ये धेरैजसो विभिन्न सरकारी निकाय वा मन्त्रालयमा कार्यरत निजामती कर्मचारी नै हुन्छन् । कर्मचारीले समेत कर्मचारीको गल्ती औंल्याएर सुधार गर्नुपर्ने आवाज उठाए पनि सो आवाज सामान्य प्रशासन मन्त्रालयमा कार्यरत कर्मचारीको कानसम्म पुगेको छैन ।
त्यसो त सरकारी निकायमा हुने अनियमितता र कर्मचारीको बेथितिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले अनुगमन गर्ने दर्जनौं निकाय छन् । राष्ट्रिय सतर्कता केन्द्रले नियमित रूपमा सरकारी कार्यालय र कर्मचारीको अनुगमन गर्दै आएको छ ।
केन्द्रले सार्वजनिक निकायबाट हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार सम्बन्धमा उजुरी संकलन गर्ने सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव, निर्देशन दिने, सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति र आयको अनुगमन गर्ने, विभिन्न सरकारी कार्यालयमा हाजिरी, पोसाक, सिट छड्केजस्ता सुधारात्मक कार्य गर्ने गरेको छ ।
केन्द्रले बेलाबेलामा छड्के अनुगमन गरी कारबाहीको सिफरिस पनि गर्दै आएको छ । तर कर्मचारीले भने न केन्द्र वा मन्त्रीको निर्देशन पालन गर्छन् न कानुनको । सार्वजनिक सेवामा प्रवेश गर्ने व्यक्तिले सेवासम्बन्धी कानुनमा उल्लेख भएको आचरण पालना गर्नुपर्छ ।
निजामती सेवा ऐन, २०४९ को परिच्छेद ७ मा कर्मचारीले पालना गर्नुपर्ने समयपालन र नियमितता, अनुशासन र आज्ञापालन गर्नुपर्ने उल्लेख छ। तर कर्मचारीले यस्ता कानुनी व्यवस्थाको मर्यादासमेत राखेको पाइँदैन ।
क्ष्ल्क्

प्रतिक्रिया