घरभाडामा छुट दिन माग

नेपालखोज २०८० जेठ ३१ गते ९:१२

काठमाडाैं । आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो । समितिद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरबहाल कर पनि घरधनी आफैँले तिर्न आग्रह गरे ।

समितिले सम्झौताअनुरुप भाडा वृद्धिको समय आएको भए पनि त्यसलाई पछाडि सार्न माग गरेको छ । कोभिड–१९ ले थलिएको व्यवसाय क्षेत्र पछिल्लो आर्थिक सङ्कटका कारण झन्झ्न मारमा परेको उनले बताए । आर्थिक मन्दीका कारण १५ देखि २० प्रतिशतसम्म व्यवसायी पलायन भएको अनुमान समितिको छ । अधिकांशले भाडा तिर्न नसकेर व्यवसायबाट हात धुनुपरेको बताउने गरेको समितिका प्रथम उपाध्यक्ष उमापति ढकालले बताए ।

उनले व्यवसायीहरू विषम परिस्थितिबाट गुज्रिरहेकाले घरभाडा वृद्धि नगर्न र बढेको भाडादर मिनाहा गरिदिन माग गरिएको बताउनुभयो । समयमा घरभाडा नतिर्ने व्यवसायीलाई घर खाली गर्न बाध्य नपार्नसमेत समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया