नागरिकता विधेयकसम्बन्धी आदेश नआए सत्याग्रहमा बस्ने नेता शर्माको चेतावनी

नेपालखोज २०८० जेठ ३१ गते २२:३८

महेन्द्रनगर । नेकपा (माओवादी केन्द्र)का नेता रामकुमार शर्माले सर्वोच्च अदालतबाट नागरिकता विधेयकसम्बन्धी आदेश अविलम्ब नआए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।

आज जनकपुरमा पत्रकार सम्मेलन गरी नेता शर्माले नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिए ।

नागरिकतासम्बन्धी आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला आउनुपर्ने शर्माले माग गरे ।

नेपालको संविधान, २०७२ जारी भएको करिब आठ वर्ष भइसकेको र संविधान जारी भएको मितिले तीन वर्षभित्र सङ्घीय संसद्बाट कानून बनाएर पूर्णरूपमा कार्यान्वयन गरिने भनिए पनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने शर्माले बताए ।

नागरिकता विधेयक सङ्घीय संसद्बाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दासमेत अनेक बहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आइरहेको शर्माले आरोप लगाए।

उनले भने, ‘संविधानबमोजिम नागरिकता पाउनयोग्य १० लाखभन्दा बढी नेपाली युवाको पीडालाई आत्मसात् गर्दै जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण भयो र गृह मन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित गर्र्यो । षड्यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनकै लागि षड्यन्त्र सुरु भएको छ ।’

उनले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया