पानी संकटका लागि ‘धनीहरूको जीवनशैली’ जिम्मेवार

काठमाडाैं । अनुसन्धानका अनुसार विलासी घरमा बस्ने मानिसहरूले आफ्नो बगैंचा, पौंडी पोखरी र कार धुनका लागि ठूलो मात्रामा पानी खपत गर्छन्, जसको पैसा सहरका कमजोर वर्गले तिर्नु पर्ने हुन्छ । फलस्वरूप, सहरमा उपस्थित कमजोर र सीमान्तकृत समुदायहरू आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्न पनि संघर्ष गर्छन् । यी सामाजिक असमानताहरूले यस क्षेत्रको खानेपानी आपूर्तिको दीर्घकालीन दिगोपनलाई खतरामा पारेका छन् ।
नेचर सस्टेनेबिलिटी जर्नलमा प्रकाशित एक अनुसन्धानको नतिजाले जलवायु परिवर्तन वा बढ्दो सहरी जनसंख्या जस्ता वातावरणीय कारकभन्दा पनि सहरहरूमा बढ्दो पानी संकटको लागि सामाजिक असमानता बढी जिम्मेवार रहेको देखाउँछ ।
यद्यपि यो अध्ययन दक्षिण अफ्रिकाको केप टाउन सहरमा आधारित छ, तर यो अध्ययनमा अनुसन्धानकर्ताहरूले बैंगलोर, चेन्नई, जकार्ता, सिड्नी, मापुटो, हरारे, साओ पाउलो, लन्डन, मियामी, बार्सिलोना, बेइजिङ, टोकियो, मेलबर्न, इस्तानबुल, कायरो, मस्को, मेक्सिको सिटी र रोम जस्ता ८० सहरले यस्तै समस्याल भोगिरहेको बताएका छन् । केप टाउनलाई हेर्दा त्यहाँ धनी र गरिबबीचको खाडल निकै फराकिलो देखिन्छ । त्यहाँ उच्च र उच्च मध्यम आय भएका घरपरिवारले दैनिक औसत २,१६१ लिटर पानी प्रयोग गर्छन् भने कमजोर वर्गका घरपरिवारले दैनिक औसत १७८ लिटर पानी मात्र प्रयोग गर्छन् ।
युनिभर्सिटी अफ रिडिङका हाइड्रोलोजिस्ट तथा अध्ययनसँग सम्बद्ध अनुसन्धानकर्ता प्रोफेसर हन्ना क्लोक भन्छिन् जलवायु परिवर्तन र जनसंख्या वृद्धिको अर्थ ठूला सहरहरूमा पानी महँगो स्रोत बन्दै गएको छ । तर हामीले पाएका छौं कि सबैभन्दा कमजोर वर्गहरूले आफ्नो दैनिक आवश्यकताहरू पूरा गर्न पानी संकटको सामना गरिरहेका छन् । यसको सबैभन्दा ठूलो कारण सामाजिक असमानता हो।
पछिल्ला दुई दशकमा खडेरी र पानीको बढ्दो प्रयोगका कारण विश्वका ८० भन्दा बढी ठूला सहर पानी संकटबाट ग्रस्त रहेको उनको भनाइ छ । विश्वका धेरै ठाउँमा धनी र गरिबबीचको खाडल बढ्दै गएकाले भविष्यमा यो संकट अझै बढ्ने अनुमान गरिएको छ । यसले सामाजिक, आर्थिक र वातावरणीय असमानताबीचको घनिष्ठ सम्बन्धलाई प्रतिबिम्बित गर्ने उनको भनाइ छ । त्यसैले सहरमा पानी बाँडफाँड गर्ने उचित तरिकाको विकास नगरेसम्म यसको परिणाम सबैले भोग्नुपर्ने हुन्छ ।
संयुक्त राष्ट्रसंघले जारी गरेको नयाँ ‘वर्ल्ड वाटर डेभलपमेन्ट रिपोर्ट २०२३’ अनुसार सन् २०५० सम्ममा सहरमा पानीको माग ८० प्रतिशतले बढ्नेछ, यसै सन्दर्भमा प्रकाशित अर्को प्रतिवेदनलाई उद्धृत गर्दै यो क्रम जारी रहे सन् २०३० सम्ममा ताजा पानीको माग ४० प्रतिशतले आपूर्तिभन्दा बढी हुनेछ। नतिजाको रूपमा, पानीको बारेमा झगडाले अझ गम्भीर रूप लिन्छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि पानीको बर्बादीबारे भनेका छन्, ‘मानिसले पानीका रूपमा आफ्नो जीवनको रगत खेर फालिरहेको छ। हामीले हाम्रो जलस्रोतको अत्यधिक दोहन गर्दै यसलाई बर्बाद गरिरहेका छौं । यस्तो अवस्थामा यो समस्याबाट बच्न आपसी सहयोग र साझेदारी आवश्यक छ । पानी एउटा अमूल्य श्रोत हो, त्यसको बर्बादीले नै हाम्रा लागि संकट सृजना गरिरहेको छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ ।

प्रतिक्रिया