बोराभित्र महिलाको शव, हत्यामा संलग्न श्रीमान् पक्राउ

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । प्रहरीले विष्टलाई मङ्गलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
मृतक व्यास–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए । पक्राउ परेका विष्टउपर जिल्ला अदालत तनहुँबाट आज पाँच दिनको म्याद थप गरिएको छ । विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक रङ्गिलाले दुईवटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान् श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्टले बताए ।
मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिएका थिए । उक्त निवेदमा भुजेलले छोरी गत जेठ २४ गतेदेखि सम्पर्कविहीन भएको उल्लेख गरेका थिए । निज मनबहादुर भुजेलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरी उपरीक्षक विष्टले बताए । हातमा लगाएको चुरा, कानमा लगाएको रिङ र हातखुट्टाका आधारमा मृतकका बुबाले सनाखत गरेको प्रहरी उपरीक्षक विष्टको भनाइ थियो । rss
प्रतिक्रिया