दुर्घटनाहरूबाट बालबालिकाको सुरक्षा तथा संरक्षण

काठमाडौं । बालबालिका जिज्ञासु स्वभावका, चञ्चल र नथाक्ने हुन्छन् । उनीहरू एकै ठाउँमा बसिरहन सक्दैनन् । उनीहरूलार्ई खेल खेल्न र सिक्नका लागि प्रशस्त ठाउँ चाहिन्छ । उनीहरू वरिपरिको वातावरणको खोजी गर्न इच्छुक हुन्छन् ।
खोजी गर्ने क्रममा उनीहरू जोखिममा पर्न सक्छन् । उनीहरूले कुनै पनि क्रियाकलाप, जस्तै, खेल खेलेर के कस्तो नतिजा होला भन्ने अनुमान गर्न सक्दैनन् ।
त्यसैले बालबालिकालाई उनीहरूको उमेर, रुचि, क्षमता, स्वभाव र अवस्था बुझेर वातावरण तयार गर्नुपर्दछ । असुरक्षित वातावरण तथा संरक्षणको अभावका कारण बालबालिका दुर्घटनामा पर्ने सम्भावना हुन्छ ।
दुर्घटना भन्नाले मानवीय वा प्राकृतिक परिस्थितिले अकस्मात र अकल्पनीय रूपमा हुने हानिकारक स्थिति हो । दुर्घटना कुनै पनि समयमा हुन सक्छ । दुर्घटना कहाँ कहिले हुन्छ पहिले नै थाहा पाउन सकिन्न । तर बालबालिकाको अवस्था, घर, खेल्ने, सिक्ने वातावरण हेरेर दुर्घटनाको अनुमान लगाउन सकिन्छ ।
उनीहरूको उमेर र वृद्धि विकास सुहाउँदो सुरक्षित वातावरणको अभावमा बालबालिका दुर्घटनामा परेका धेरै उदाहरणहरू पाइन्छन् । जस्तै, लडेर घाउचोट लाग्नु, आगोले पोलिनु, सवारी दुर्घटनामा पर्नु, जनावरले टोक्नु, पानीमा डुब्नु, बगाउनु, आदि ।
उनीहरूलाई आफ्नो क्रियाकलापको परिणाम थाहा नहुनाले दौड्दा, उफ्रँदा र अन्य कारणले दुर्घटनामा पर्छन् । दुर्घनाको कारणले उनीहरूमा चोट लाग्ने, हड्डी भाँच्चिने, अपाङ्गता र ज्यानसमेत जाने हुनाले यस्तो हुनबाट बचाउनुपर्दछ ।
बालबालिकाको दुर्घटनाबाट सुरक्षा
बालबालिकाको दुर्घटनामा कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आम जनसमुदायले विभिन्न कदम चाल्न सक्छन् । यसका लागि बालबालिकामैत्री सुरक्षित घर, खेल्ने ठाउँ, सडक–बाटोहरू निर्माण गर्नेतर्फ विचार पुर्याउनु अति नै आवश्यक छ ।
बालबालिकाको दुर्घटनाले निम्त्याउने चोटपटकका कारण परिवार र समाजमा आइपर्ने बोझ, तिनको रोकथामको मह¬वको विषयमा छलफल गर्ने गरेमा घाइतेको औषधी उपचार खर्चमा कटौंती गर्न सकिन्छ भने बालस्वास्थ्य प्रवर्धनमा पनि प्रत्यक्ष मद्दत पुग्दछ । निम्न उमेर समूहअनुसार बालबालिकालाई विभिन्न दुर्घटनाबाट बचाउनुपर्छ ।
१८ महिनामुनिका शिशुहरू
- साना शिशुहरूलाई सही तरिकाले बोक्नुपर्छ । समातेर हिंड्दा, कुनै वस्तुमा चिप्लेर वा अल्झेर नलड्ने गरी होस पुर्याउनुपर्छ । भर्याङबाट ओर्लंदा बार समातेर मात्र ओर्लनुपर्छ । ठुला बालबालिकालाई बोक्न दिंदा पनि ध्यान पुर्याउनुपर्छ ।
- शिशुलाई आफूसँगै सुताउँदा निन्द्रामा आफ्नै शरीरले थिच्ने, कुल्चिने हुन सक्छ ।
- एक्लै छाड्दा विभिन्न किरा तथा जनावरहरूले टोक्न र चिथोर्नबाट बचाउनुपर्दछ ।
- विस्तारै हात र खुट्टा प्रयोग गर्ने भएपछि पल्टिन सक्ने हुन्छन् । यस्तो बेला खाटमा राख्ने बेला एकदम होस गर्नुपर्दछ । नभए खाटबाटै तल झर्न सक्छन् ।
- तातोपानीले नुहाइदिंदा पानी कति तातो छ जाँचेर मात्र नुहाइदिनुपर्छ ।
- आगो बालेको वा खाना पकाउने ठाउँमा बालबालिकालाई सुताउने वा खेलाउने गर्नु हुँदैन । यसले शिशु निसासिन सक्छ । साथै बामे सर्न थालेका शिशुले आगो छुन पनि सक्छन् ।
- खुला भाँडोमा पानी भरिएको छ त्यसलाई सधैँ छोपेर राख्नुपर्छ । नेपालमा शिशुरबालबालिकाको दुर्घटनामा डुब्ने दुर्घटना बढी छ ।
- बालबालिका बामे सर्ने भएपछि घरबाहिर पुग्ने, सामानहरू मुखमा राख्ने गर्ने हुनाले विशेष ध्यान आवश्यक हुन्छ । उनीहरूलाई एक्लै छोड्नु हुँदैन ।
- मेच, टेबुल, खाटमा उभिन र लड्न सक्छन् । भर्याङ नजिक वा अग्लो स्थानमा एक्लै छाड्दा उक्लेर वा चढेर त्यहीँबाट लड्न सक्छन् । छेकबार नलगाएको कौसी वा अन्य अग्लो स्थानमा एक्लै छोड्नु हुँदैन ।
१८ महिनादेखि ५ वर्षसम्मका बालबालिका
- चपाउन नसकिने वा नघुल्ने खाना र बिउहरू साना बालबालिकालाई दिनु हुँदैन । टाँक, सिक्का, सिसीका बिर्को, साना ढुङ्गा, माटो र मानव शरीरका लागि अन्य हानिकारक वस्तु बालबालिकालाई मुखमा हाल्न दिनु हुँदैन ।
- नुहाउने बेलामा चिप्लन सक्ने हुनाले नुहाउने ठाउँलाई सुरक्षित बनाइदिनुपर्छ ।
- पोल्नबाट जोगाउन विद्युतीय पङ्खा, हिटर चुल्हो, अगेना, ग्याँस, चुल्हो, सलाई, लाईटर आदि साना बालबालिकाले नभेट्ने गरी राख्नुपर्दछ ।
- करेन्ट लाग्न सक्ने विद्युत् प्लग तथा तारबाट टाढा राख्नुपर्दछ ।
- सिँढी, खाट, कुर्सी, टेबुल, झ्याल, पर्खाल र रुखबाट नलडून् भन्नाका लागि बालबालिकालाई रेखदेख गर्नुपर्दछ ।
- घाउचोट हुनबाट जोगाउन काँचका सामान, तिखा वस्तु, धारिला हतियार, चक्कु, हँसिया बालबालिकाले नभेट्ने ठाउँमा बन्द गरेर राख्नुपर्छ ।
- औषधी, मुसा साङ्ला तथा किरामार्ने विषादी, बोटबिरुवाका कीटनाशक विषादी, मटितेल, पेट्रोल र यस्तै अन्य हानिकारक वस्तुहरू बालबालिकाको पहुँचभन्दा बाहिर राख्नुपर्दछ ।
- बालबालिकालाई खोला, ताल, पोखरी, आहालमा डुब्नबाट जोगाउनुपर्दछ ।
- बालबालिकालाई वस्तु, ठाउँ, जीव आदिबाट हुन सक्ने जोखिम, दुर्घटना बारे कथा तथा चित्रको माध्यमबाट सचेत गराउनुपर्दछ ।
५ देखि ८ वर्षसम्मका बालबालिका
- बालबालिकालाई सुरक्षित भई सडकमा हिँड्न, बाटो काट्न, गाडीमा चढ्न र ओर्लन सिकाउनुपर्दछ ।
- साथीहरूसँग जथाभावी पौडी खेल्ने, गाडीको पछाडि दौडिने गर्नुहुँदैन, जे पायो त्यही औषधीहरू खानुहुँदैन भनेर सिकाउनुपर्छ ।
- सुरक्षा हुने गरी गाडी खच्चर, ठेला नहिँड्नेतिर (बालबालिकालाई आफ्नो दाहिनेतिर सडक छ भने देब्रेतिर) राखेर हिड्नुपर्दछ ।
- यसैगरी खतराको सङ्केत (खप्पर र दुईटा हातका हड्डी) बारे पनि सतर्क गराउनुपर्छ ।
- बालबालिकासँगै बाटोमा हिँड्दा उनीहरूलाई ट्राफिक बत्ती भएको बाटोमा रातो – रोक्नुस्, पहेंलो – तयार हुनुस्, हरियो – जानुहोस् को सङ्केतबारे सिकाउनुपर्छ ।
- दुर्घटनामा परेका बालबालिकालाई प्राथमिक उपचार
- तातो पानी, आगोरखरानी, ग्याँसले पोलेको बालबालिकालाई पोलेको भाग चिसो पानीमा डुबाइदिनुपर्दछ । सफा नरम कपडाले छोपेर तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्दछ ।
- धारिलो हतियार, चक्कु हँसिया, खुर्पा आदिले काटिएर रगत बगेको भागमा १ देखि २ मिनेट थिचिराख्नुपर्दछ र स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्दछ ।
- लडेर, खसेर या अरू कारणले हात खुट्टा भाँचिएको शङ्का लागेमा सो भागलाई सफा कपडा र काम्रोको सहारा दिएर अड्याउनुपर्दछ र एक्सरे जाँच गरी उपयुक्त उपचार गर्न अस्पताल लानुपर्दछ ।
- विषादी, मटितेल, झोल औषधी, साबुन खाएका बालबालिकालाई केही पनि नखुवाई अस्पताल लगी तुरुन्त उपचार गर्नुपर्दछ ।
नोटः घाउहरूमा जथाभावी माटो वा असुरक्षित वस्तु राख्नु हुँदेैन । माथि उल्लिखित अवस्थामा धामीझाँक्रीको उपचारले हुँदैन । त्यसैले समय खेर नफाली अस्पताल लानुपर्दछ ।
प्रतिक्रिया