प्रधानन्यायाधीशलाई आजै शपथ गराउने तयारी

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएपछि शुक्रवार नै शपथ गराउने तयारी भएको छ ।
शपथका लागि आफूहरू तयारी अवस्थामा रहेको भन्दै समयमै पत्र आइपुगे आजै शपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएको पत्र राष्ट्रपति कार्यालयमा समयमै आइपुगेमा शुक्रवार नै शपथ गराउने तयारी भएको छ ।
प्रवक्ता भट्टराईका अनुसार समितिबाट नाम अनुमोदन भएको पत्र आएको तीन घण्टाको समय राष्ट्रपति कार्यालयका लागि तयारी गर्न लाग्नेछ । उक्त समयमा शपथमा बोलाउनुपर्ने सबै व्यक्तित्वहरूलाई पत्र पठाई बोलाउनका लागि समय लाग्ने भएकाले समयमै पत्र आइपुगेमा शुक्रवार नै शपथ गराउने तयारी भएको छ ।
प्रवक्ता भट्टराईले भनिन्, ‘शपथका लागि हामी त तयारी अवस्थामै छौँ, अब समितिबाट नाम अनुमोदन भएको पत्र कति समयमा आइपुग्छ, त्यसपछि मात्रै शपथको मिति र समय भन्न सक्छौँ ।
आज समयमै पत्र आइपुगेको अवस्थामा आजै शपथ हुने सम्भावना पनि छ । तर अब पत्र कुन बेला आइपुग्छ भन्ने थाहा नभएकाले त्यसपछि मात्रै आज शपथ हुन्छ कि हुँदैन भन्न सकिन्छ । हामीलाई तीन घण्टाको समय भए पुग्ने भएकाले आज समयमै पत्र आइपुग्यो भने आजै शपथ हुनसक्ने सम्भावना छ ।’
संसदीय सुनुवाइ समितिका सचिव पदमप्रसाद पाण्डेयका अनुसार शुक्रवार करिब १२ बजेसम्ममा प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको सर्वाधिक परिषद्लाई जानकारीसहितको पत्र पठाइनेछ ।
त्यसपछि संवैधानिक परिषद्बाट सोको जानकारीसहित शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र लेखिनेछ । राष्ट्रपति कार्यालयबाट शपथका लागि समय प्रदान भएपछि राष्ट्रपतिबाट शपथ गराइनेछ ।
प्रतिक्रिया