बुधबार, असार ४, २०८२

तीनवटा मन्त्रालयको बजेट माथिको छलफल सकियो

नेपालखोज २०८० असार १ गते १९:१२

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट माथि छलफल सकिएको छ ।

आइतबार बिहान बस्ने प्रतिनिधिसभाको अर्को बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुने सभामुख देवराज घिमिरेले संसद्लाई जानकारी गराए ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० माथिको मन्त्रालयगत छलफलमा भाग लिदै सांसद आस्माकुमारी चौधरीले भूमिहीन, सुकुम्बासीका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताइन् । आगामी आर्थिक वर्षको बजेटले भूमिहीन र सुकुम्बासीका लागि उल्लेख्य कुनै कार्यक्रम ल्याउन नसकेको उनको टिप्पणी थियो ।

आगामी आर्थिक वर्षको बजेटबाट प्रतिपक्ष मात्र सत्तापक्षका सांसद पनि असन्तुष्ट देखिएको सांसद महेशकुमार बर्तौलाले बताए । ‘नेपालको बजेटको इतिहासमा सत्तापक्षबाट यसप्रकारको रोदन र क्रन्दन पहिलोपटक आएको होला । यसले के देखाउँछ भने यो बजेट जनमैत्री छैन र यो बजेटले देशको आजको समग्र समस्या समाधान गर्नसक्ने खालको छैन ।’ उनले भने ।

प्रतिक्रिया