मंगलबार, वैशाख २५, २०८१

निर्देशनको भूमिकामा जेम्स प्रधान

नेपालखोज २०८० असार १ गते २१:००

काठमाडौं । नेपाली सङ्गीतमा गायक, सङ्गीतकार, एरेञ्जर लगायतको परिचयद्वारा स्थापित जेम्स प्रधान निर्देशक बनेका छन्। उनले निर्देशन गरेकाे छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ को यहाँ आयोजित एक समारोहमा विशेष प्रदर्शनी गरियो ।

एउटै कथालाई गीत र छोटो चलचित्रमा प्रस्तुत गरेका गायक प्रधानले आफू इन्टरनेटको माध्यमले चलचित्रको विधालाई नजिकबाट नियाली रहेको जानकारी दिए। ‘यो मेरो दोस्रो छोटो चलचित्र हो । म धेरै चलचित्र हेर्छु, त्यही कारणले निर्देशक बन्न पुगे’, उनले भने, ‘धेरै चलचित्र कागजमा मैले लेखिसकेको छु । त्यही प्रभावले पनि यसपटक निर्देशकसँगै लेखनमा पनि आफैँ छु ।’ उनले यो तयारी ठूलो पर्दाको लागि रहेको सङ्केत गरे ।

गायिका आनी छोइङ डोल्माले चलचित्र निर्देशन सम्बन्धी दिएको प्रतिक्रियाले उनलाई अहिले पनि निर्देशक बन्न प्रेरित गर्ने गरेको जानकारी दिइन् । ‘म चलचित्र निर्देशन गर्छु, तर कहिले अहिले भन्ने अवस्था छैन । यसलाई त्यसकै सुरुआतको रुपमा समेत बुझ्न सकिन्छ’, गायक प्रधानले भने । उक्त छोटो चलचित्रमा समिशन जिसी र बेदना राईले अभिनय गरेका छन् । यसमा श्याम तामाङले छायाङ्कन, कपिल पराजुलीले रङ्ग संयोजन, जेसिका प्रधानले सम्पादन गरेका छन् ।

कार्यक्रममा उपस्थित निर्देशक राजेन्द्र शल्लभले गायक प्रधानमा पहिले देखि नै विविध क्षमता रहेको बताए । उनले भने, ‘मैले उहाँमा गायनसँगै कथ्य शैलीको विकसित रुपलाई पाएको छु । म निर्देशक भएकाले पनि मलाई त्यो प्रतिभा पहिचान गर्न गाह्रो भएँन ।’ अभिनेता तथा मोडल प्रशान्त ताम्राकारले छोटो चलचित्र हेरेपछि नियमित भन्दा फरक महसुश गरेको प्रतिक्रिया दिए ।

‘निर्देशकीय पक्ष र कलाकारको काम सबै राम्रो छ । कलाकार पनि भएकाले उहाँको निर्देशनमा काम गर्ने रहर जाग्यो’, अभिनेता ताम्राकारले भने । कार्यक्रममा उपस्थित गायक योगेश्वर अमात्य, सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भिम तुलाधर, सङ्गीतकार न्हू बज्राचार्य, निर्देशक सुव्रतराज आचार्य लगायतले गायक प्रधानको निर्देशकीय पक्ष र कथ्य शैलीको प्रसंसा गरेका थिए ।-rss

प्रतिक्रिया