भरतपुरको वडा नम्बर १३ बालमैत्री घोषणा

नेपालखोज २०८० असार २ गते १०:४८

भरतपुर । भरतपुर महानगरपालिका–१३ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार एक कार्यक्रमका बीच वडालाई बालमैत्री घोषणा गरेकी हुन् । वडाध्यक्ष प्रकाश दवाडीलाई महानगर प्रमुख दाहालले घोषणापत्र हस्तान्तरण गर्दै बालमैत्री घोषणा गरेकी हुन् ।

बालमैत्री बन्नका लागि आवश्यक ५१ सूचक पुरा गरेसँगै यस वडालाई घोषाणा गरिएको हो । विसं २०७६ सालमा भरतपुर महानगरको वडा नम्बर १४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । वडा नम्बर १३ महानगरको बालमैत्री घोषणा गर्ने दोस्रो वडा बनेको छ ।

भरतपुरलाई बालमैत्री नगर बनाउन विसं २०६८ सालदेखि नै अभियान थालिएको हो । आर्थिक वर्ष ०८३/०८४ मा महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । बालबालिकालाई मूल प्रभाहिकरण गर्नुपर्छ भन्ने उद्देश्यले राज्यले दिगो विकास लक्ष्यमा समेत राखेको छ ।

सो महानगर प्रमुख दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको बताईन् । भरतपुरलाई बालमैत्री बनाउन सडक मानवमुक्त पहिलो महानगर, पिटुसिटु, अटिजम विद्यालय, आधा दर्जन विद्यालयमा स्रोत कक्षालगायतको कार्य गरी बालमैत्रीतर्फ उन्मुख हुँदै गएको छ ।

प्रतिक्रिया